काठमाडौँ । प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चारमाध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल, युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन अपिल गरेको छ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट राख्न र तथ्यपूर्ण समाचार प्रवाह गर्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न कामसमेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जाल पेजको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाई कार्यान्वयन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

