काठमाडौं ।स्याङ्जाकी एक महिला ठगी आरोपमा काठमाण्डौमा पक्राउ परेकी छिन। स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–१ घर भई हाल काठमाडौँ–३१ बानेश्वर बस्ने ५० वर्षीया कमलाकुमारी केसी ठगीको आरोपमा पक्राउ परेकी हुन्।
केसीले युवाहरुलाई विदेश पठाई दिन्छु भन्दै मोटो रकम असुलेर बेपत्ता हुने गरेको आरोप प्रहरीले लगाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, अभियुक्त केसीले क्रोएसिया पठाउने भन्दै चार जनाबाट रु आठ लाख २५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।
रकम लिएपछि विदेश नपठाइ सम्पर्कविहीन भएको पीडितको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपीआचार्यले बताए।
यसैगरी बागलुङ बडिगाड गाउँपालिका–९ घर भई हाल भक्तपुर सूर्यविनायक–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा तथा झापाको मेचीनगर नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय मनिश खड्का पनि विदेश पठाई दिन्छु भन्दै मोटो रकम असुलेर ठगी गरेको आरोपमा काठमाण्डौबाटै पक्राउ परेका छन्।
अभियुक्त बुढाले युके पठाउने भन्दै एक जनाबाट रु दुई लाख तथा खड्काले क्रोएसिया पठाउने भन्दै एक जनाबाट रु दुई लाख २५ हजार लिएको अनुसन्धानको क्रममा खुलेको छ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
