काठमाडौं । सहकारीको रकम अपचलनकाे आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको छठ पर्व पनि हिरासतमै बित्ने भएको छ । यस बर्षको तिहार हिरासतमै बिताएका पूर्व गृहमन्त्री लामिछाने छठमा पनि हिरासतमै बस्नुपर्ने भएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई आजमात्र अदालतले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक १५ गतेबाट लागू हुनेगरी थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पीडितको पक्षमा युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले बहस गर्दै २५ दिनको म्याद मागेका थिए ।
तर, रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गर्दै रिहा गर्न माग गरेका थिए । रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।
उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहे। आजबाट तिहार बिदा सकिएर अदालत खुलेकाले पुनः म्याद थपका लागि प्रहरीले उनलाई अदालत उपस्थित गराएको हो।
जिल्ला अदालत कास्कीले म्याद थप गरेसँगै उनलाई बुटवल पठाउने तयारी गरिएको छ । बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको हो।
