भक्तपुर। साहित्यकार छन्द विज्ञान निरौलाद्वारा लिखित “सगरमाथाको काखबाट इतिहास नियाल्दा” पुस्तक शनिबार एक भव्य समारोहमा विमोचित भएको छ।
पूर्व प्रधानमन्त्री एबं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले मध्यपुर थिमीमा एक समारोहमा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा उनले देश र जनताको लागि काम गर्नका लागि सबैलाई आह्वान गर्दै भने, “हामी सबैका फरक क्षमताहरू छन्, र ती क्षमताका आधारमा हामीले जनताको हितमा काम गर्नुपर्छ।”
अध्यक्ष नेपालले जनताको हितमा सक्रियताका लागि सवैलाई प्रेरित गर्दै, “जुनसुकै माध्यमबाट पनि देश र जनताको लागि योगदान गर्नुपर्छ” भन्ने कुरामा जोड दिए।
कार्यक्रममा पूर्वमन्त्री बलबहादुर केसी, लेखक निरौला, प्रदेश सांसद डा. राजेन्द्रकुमार श्रेष्ठ, नेकपा एस भक्तपुरका अध्यक्ष श्याम वस्नेत र अन्य उपस्थित व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए।
“सगरमाथाको काखबाट इतिहास नियाल्दा” पुस्तक सार्वजनिक अध्ययन अनुसन्धान केन्द्र नेपालबाट प्रकाशित गरिएको हो। यसमा तीन अध्याय छन् र नेपाल, विशेष गरी सोलुखुम्वू जिल्लाको इतिहासबारे विस्तृत जानकारी प्रस्तुत गरिएको छ। ३८२ पृष्ठको यो पुस्तकको मूल्य ५५० रुपैयाँ राखिएको छ।
