झापा । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो २८ औं वार्षिक साधारण सभाको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको छ। उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा दमक-१ स्थित संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।
यस्तो प्रकारको पहिलो पटक गरिएको कार्यक्रममा संस्थाले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्न पत्रकार भेटघाटको आयोजना गरेको हो।
प्रतिवेदनले संस्थाको हालैका प्रमुख गतिविधिहरू, कार्यसमितिको योगदान, र उपभोक्ताहरूलाई प्रदान गरिएका सेवाहरूको बारेमा जानकारी दिएको छ। संस्थाका अध्यक्ष रवि न्यौपाने खत्री केसीका अनुसार, यस पटक विभिन्न महत्वपूर्ण सुधारहरू र उपभोक्ताहरूको हितका लागि केही निर्णयहरू लागू भएका छन्।
श्रावण १ गतेदेखि ८ युनिटसम्म पानी प्रयोग गर्ने उपभोक्ताहरूका लागि न्यूनतम महसुल घटाएर १३० रुपैयाँबाट ५० रुपैयाँ कायम गरिएको छ । यसले उपभोक्ताहरूलाई थप सुविधा दिने अपेक्षा गरिएको छ। त्यसैगरी, धारा जडान शुल्क पनि घटाइएको छ, जसले गर्दा विगतमा लिइँदै आएको १५,३०० रुपैयाँको शुल्कलाई घटाएर १२,३०० रुपैयाँ बनाइएको छ।
संस्थाले भविष्यमा दमकमा पानीको अभावलाई मध्यनजर गर्दै बोरिङ्ग तथा फिल्टर निर्माणको योजना अघि सारेको छ। यसका लागि ७२ लाख ५ हजार रुपैयाँको लगानीमा २०८१ साल भदौ ६ गते जग्गा खरिद गरिएको छ। यो कदमले भविष्यमा पानीको समस्या समाधानमा मद्दत पुर्याउने विश्वास छ।
यस्तै पत्रकार सम्मेलन मार्फत , संस्थाले विपन्न वर्गको पहिचान गरी उनीहरूका लागि निःशुल्क पानी उपभोग गर्ने व्यवस्था पनि गरेको छ। सार्वजनिक स्थलहरूमा धारा जडान गरी तिनका लागि निःशुल्क पानी उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी गराइएको छ।
अध्यक्ष केसीले आगामी दिनमा सम्पूर्ण दमक नगरपालिकाका वडामा खानेपानी विस्तार गर्ने दीर्घकालीन योजना रहेको र सोही अनुसार कार्य अघि बढाइने बताउनुभयो।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा आगामी कार्य योजनाहरूको समीक्षा पनि गरिएको थियो।
