डिकेन्द्र बस्नेत, झापा । “मेरो जिम्मेवारी म पूरा गर्छु, परिवर्तन आफुबाट गरौं” भन्ने मुल नारा रहेको जीवन चक्र समाज नेपालले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका सभाअध्यक्ष वासुदेव काफ्ले थिए भने प्रमुख अतिथिका रूपमा दमक डाइनमिक पब्लिक लाइब्रेरीका भेसराज न्यौपाने सहभागी थिए।
यस्तै अन्य अतिथिहरूमा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापा, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख नारायण भट्टराई, र साहित्यकार तथा समाजसेवी दुर्गा काफ्ले लगायतको उपस्थिति थियो।
कार्यक्रममा शुभकामना मन्तव्यहरू राख्दै वक्ताहरूले सामाजिक उत्तरदायित्व, सद्भाव र चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन सुझाव दिए।
नेकपा एमाले नगर अध्यक्ष राम पौडेलले भने, “साना र सामान्य कुरा देखिदैनन् तर तिनले ठुलो प्रभाव पार्छन्। हामीले सामाजिक सद्भाव कायम राख्न र स-साना कुरामा पनि ध्यान दिनु जरुरी छ।”
प्रहरी प्रमुख निशान थापाले भने, “चाडपर्वलाई सुरक्षित रूपमा मनाउनु पर्छ, घर र धनको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। समाजमा सुरक्षाको लागि हामी सबैले मिलेर काम गर्नुपर्छ।”
कार्यक्रमको प्रमुख आकर्षणमा जीवन चक्र समाजले विनोद अधिकारीलाई सम्मान गरेको थियो। अधिकारीले ३७ औं पटक रक्तदान गरेर समाजमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मानित गरिएको हो।
प्रमुख अतिथि भेसराज न्यौपानेले समाजमा सक्रिय भएर कार्य गर्नुपर्नेमा जोड दिँदै भने, “हामी जहाँ छौं, त्यहाँबाट नवीनतम रूपमा नतिजा दिन सक्ने खाले कार्य गर्नु जरुरी छ। समाजमा हाम्रो व्यवहार कत्तिको प्रभावकारी छ भन्ने कुरा मुख्य हो।”
समाजका उपाध्यक्ष बेनुराज प्रसाईले कार्यक्रमका अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन जीवन चक्र समाजका सचिव गणेश प्रधानले गरेका थिए।

