काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवक’ चणिकलाल तामाङलाई सम्मान गरेका छन्। उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन्।
तामाङले हिजो शनिबार ललितपुर महानगरपालिका-२५, सुगमटोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए। टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरू टहरासँगै बगेका थिए।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उद्धारका लागि उर्लँदो भेलमा हाम फालेका थिए।
