काठमाडौं । ललितपुरको होटल हिमालयको छेउमा गत शनिबार अपराह्न साँढे १ बजेतिर एक्कासी पानीको चापसहित सडकमा भ्वाङ पर्दा केही मोटरसाइकलहरू ढलका थिए ।
त्यहाँ विष्फोट भए झैँ ठूलो आवाजसहित भ्वाङ परेर पानी बाहिर निस्किँदा बाढी नै बन्न पुगेको थियो । त्यसरी भ्वाङ पर्नुको मुख्य कारण भने मेलम्चीको पानी नै हो ।
सडकमुनी बिच्छ्याइएको पाइप फुटेर पानी निस्किएको र त्यो पानीको दबाबले सडक फुटाएर भ्वाङ पारेको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका इन्जिनियर शुभराज न्यौपाने र सडक विभाग ललितपुरका प्रमुख गोपाल खकुरेल जनाएका छन् ।
पाइपलाइन फुटेर पानी निस्किएको र त्यसले नै सडक फुटाएको पाइएको थियो । केही समयपछि प्राप्त सूचनाका आधारमा केयुकेएलले त्यस क्षेत्रको पानी बन्द गरेपछि वातावरण सहज भएको थियो ।
पानीको पाइलपाइन बनाएपछि सडक मर्मतको काम थालिने,त्यसका लागि काम जारी रहेको जनाइएको छ । यो घटनाले मेलम्ची पानीको पाइपलाइन यसै गरी फुट्ने खतराको संकेत दिएको स्थानीयहरूको भनाई रहेको छ ।
