काठमाडौं । आगामी असोज ३ संविधान दिवसको दिन बाट धरहरा सञ्चालन गर्ने सरकार को तयारी रहेको जानकारी प्राप्त भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त तरिकाले निर्माण गरिएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।
भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् ।
भुकम्पले भग्नाबशेष बनाएको धरहरा, रानी पोखरी जस्ता राष्ट्रका धरोहर को निर्माण प्रधानमन्त्री के.पी.शर्मा ओलीको पालामा तीन वर्षअघि नै भइसके पनि सञ्चालन नभएकोमा हाल प्रधानमन्त्री ओलीकै कार्यकालमा आगामी असोज ३ गते बाट सञ्चालन हुनु संयोग जस्तो बनेको छ ।
