Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिवांगत परिवारकाे संझनामा नेवार समुदायले गाईजात्रा मनाउँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 20, 2024
[webverse_shares]

काठमाडौ । काठमाडौं उपत्यकालगायत नेपालमा नेवार समुदायको बाहुल्य रहेका स्थानमा आज (बुधवार) सापारु अर्थात गाईजात्रा पर्व मनाइँदैछ । वर्ष दिनयता दिवंगत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाइने परम्परा अनुसार बुधवार नेवार समूदायले गाईजात्रा पर्व मनाउन लागेको हो ।

गाईजात्राका दिन विशेषगरी दिवंगत परिवारका सदस्य वा आफन्तको स्मृतिमा साँस्कृतिक झाँकी, हाँस्य व्यंग्यसहित जात्रा निकाल्ने प्रचलन छ । काठमाण्डौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ । दिवङ्गत भएकाको स्मृतिमा पुण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ ।

धार्मिक र साँस्कृतिक महत्वको गाईजात्रा भक्तपुरमा मुलुकका अन्य भागमा मनाउने भन्दा भिन्न र मौलिक शैलीमा मनाईन्छ । भक्तपुरमा गाईजात्रालाई अाँसु र हाँसोको संगमको पर्वको रुपमा लिईन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वको रुपमा समेत गाईजात्रा लिईन्छ ।

मृतकका घरबाट गाईजात्रा निकाल्दा आफन्तजन मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्य व्यंग्य र ख्याल ठट्टासहितका झाँकी नगर परिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाईन्छ । त्यसैले भक्तपुरको गाईजात्रा हेर्न उपत्यकाका लगायत बनेपा, धुलिखेल र पनौतीलगायतका शहरबाट समेत हजारौंको संख्यामा दर्शकहरु आउने गर्दछ । भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात रहेको छ ।

भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवाट जनैपुर्णिमाको साँझ नै गरिन्छ । जनैपुर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पुजा गरि निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले बताउछन् ।

जनैपुर्णिमाको साँझ शुरु भएपनि सर्वसाधरणले मुख्यरुपमा भाद्र शुक्ल प्रतिपदाको दिन सापारु अर्थात गाईजात्रा मनाईन्छ । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नु अघि प्रतिपदाको दिन बिहान सबेरै दरवार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।
भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो भने अर्को आकर्षण मृतकको सम्झनामा नगर परिक्रमा गरिने ताहासा (तहामचा) । घिन्ताङघिसी नाच सँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्गमा जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास रहेको छ ।

घिन्ताङघिसी ,धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा करिव एक हात लामो गोलाकार काठको लट्ठी एक आपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने नाच भएकोले जति बढी सहभागीको संख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि बृद्धहरु समेत सहभागी हुन्छन ।
ताहासा चारवटा बाँसबाट बनाईन्छ । हरियो करिव १५ फिट लामो चारवटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासा बनाईन्छ । ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको संकेत जनाउन कपडाले वेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङ माथि पलेस्वाँ लप्ते (कमलको फुलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङखा र रङगीचङगी फुलले सजाईन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा( रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतिक खास्तो राखी छाता ओढाईन्छ । ताहासाको बिचमा जामाचा लगाई लामो दुईवटा पटुका बाँधिन्छ । अगाडि पछाडी मृतकको तस्बिर, भगवानको तस्बिर सहित ऐना राखिन्छ ।

भक्तपुरमा कुमालेहरुले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउदछन् । कुमालेहरुको पुख्र्यौली पेशा माटोका भाँडा बनाउनु हो । त्यसैले उनीहरुले आफ्नै मौलिक पुख्यौली पेशा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराईने गरेको संस्कृतिकर्मी प्रा डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन ।

गाईंसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्री कृष्णा लिला समेत प्रदर्शन गरिन्छ । साथै केटाकेटीहरुलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाको रुपमा श्रृंगारी वाजागाजाका साथ वासा लुइके गरेर प्रर्दशन गर्ने प्रचलन समेत रहेको छ ।

गाईजात्रा निकाल्नु अघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वती लगायत मृतकको प्रतिक संकेत जनाउने, गाईलगायतलाई सगुन दिन मृतकको छोरीहरु र क्रियापुत्रलाई पण्डितले पुजा संकल्प गराई श्राद्धकर्मको विधिविधान पुरा गरी गौदान गराईन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला सदस्यहरु रुने परम्परा छ ।
नेवार समुदायमा सगुन दिदाँ रुनु भनेको मृतकप्रतिको सम्मानको रुपमा लिइन्छ । सगुन पुजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रो लगायत फलफुल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ र बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडी पटुका समातेर नगर परिक्रमा गराईन्छ । नगरपरिक्रमा गरउँदा ताहासामा मृतकको तस्विरले जात्रा हेर्न आएकाहरुलाई कसको ताहासा निकालेको त्यो स्पष्ट हुने गर्दछ ।

नगर परिक्रमा गर्दा क्रियापुत्र, छोरीहरु र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयहरुले आफनो गच्छे अनुसार रोटी, फलफुल, विस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नासपाती, जुसलगायत दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट संकेत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो निलो कपडामा सारी र हाकुपटासी सहितको ताहासालाई नगर परिक्रमा गराईन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । त्यसैगरी गर्भवती महिलाको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एका परिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ्ग राखेर मृतकको तस्बिर सहित काखमा राखेर ल्याउने परम्परा छ ।

गाईजात्राको दिन विधिवत रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वासले गाईजात्रा निकाल्ने गरेको हो ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । भैरवको ताहासा ल्याउँदा लाकोलाछे टोलमा वर्षदिन दिवंगत भएका सबैको ताहासा पनि भैरवको ताहासाँसँग लानुपर्ने चलन रहेको छ । भैरवनाथको ताहासालाई नगरपरिक्रमा गराउँदा टौमढी, दरवार स्क्वायर र तचपालमा तीन तीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाट स्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म मनाईन्छ । प्रतिपदाको दिन मुख्यरुपमा र अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म शहरका देवीदेवताहरु दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन रहेको छ ।

शोक र उल्लासको संगमको रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाण्डौका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिँह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्रा.डा श्रेष्ठ बताउँछन । उहाँका अनुसार लिच्वीकालमा रमाइलोको लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाई यात्रा गर्ने चलन पुर्वमध्यकालमा शुरु भएको श्रेष्ठको भनाई छ ।

गाईजात्रा विशेषगरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भएपनि नेवार समुदाय बाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाईंदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाण्डौं उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएको स्थान भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वको रुपमा विकास भएको प्रा. डा. श्रेष्ठ बताउँछन । नेवार समुदायमा पनि भक्तपुरको गाईजात्रा भिन्न र विशेषखालको हुनुमा तत्कालिन नेपाल मण्डलको राजधानी भक्तपुर हुनु प्रमुख कारण भएको प्रा. डा. श्रेष्ठ बताउँछन ।

किम्वदन्ती अनुसार राजा प्रताप मल्लको छोराको मृत्यु पश्चात रानी धेरै शोकमा डुवेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन शुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हाँस्य व्यग्य, ख्याल ठट्टा समेत प्रदर्शन गर्न राजाले आदेश दिए बमोजिम गाईजात्राको अवसरमा हाँस्य व्यंग्य समेत प्रदर्शन गरिन्छ ।

प्रा. डा. श्रेष्ठ भने राजा जयस्थिती मल्ल भन्दा पहिल्यै भक्तपुरमा गाईजात्रा मनाउँदै आएको दावी गर्नुहुन्छ । राजा जयस्थिती मल्लले सम्पादन गरेको गोपालवंशालीमा साँःयात भन्ने उल्लेख भएको प्रमाण प्रस्तुत गर्दै लिच्छवीकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाईएकाले लिच्छवीकालमा पनि गाईजात्रा मनाईन्छ भन्ने मान्न सकिने उनको भनाई रहेको छ । उनले विक्रमको १४ औ शताव्दी भन्दा अगाडि लिच्छविकालको अन्त्यतिर गाईजात्रा पर्व शुरु भएको मान्न सकिने आधारहरु भएको बताए ।

त्यसैगरी भक्तपुरमा तान्त्रिक विधिले गर्ने भएकाले यहाँको गाईजात्रा अन्य स्थानको भन्दा भिन्न र मौलिक शैलीको भएको अर्का संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउछन् । “भक्तपुर तन्त्र विद्यायुक्त शहर हो । यहाँका हरेक साँस्कृतिक परम्पराहरु तान्तिक विधि पूर्वक मनाइन्छ,” उनले भने, “भक्तपुरमा प्रत्येक पाइला पाइलामा तान्त्रिक शक्ति छ, त्यही शक्तिको आधारमा यहाँ गाईजात्रा मनाइन्छ ।”

भक्तपुर नगर तन्त्रको आधारमा स्थापित भएको र त्यही आधारलाई मानेर यहाँ मृतकको नाममा ताहासा, दोसाँ, महादेव पार्वती, वासा लाकेगुलगायत गरी नगर परिक्रमा गराईने परम्परा रहेको राजोपाध्यायले बताउनुभयो । गाईजात्रा सबै ठाउँमा मृतकको शान्तिका लागि मनाएपनि अन्य स्थानमा तान्त्रिक शक्ति नभएको राजोपाध्यायले बताए । “पाटनमा दशमहाविद्या तन्त्र भएर पनि त्यो अनुसारको जात्रा मनाउँदैन । सामाजिक विकासको क्रममा काठमाण्डौ पाटनमा त्यो विस्थापित हुँदै गएकाले यहाँको जस्तो नमनाएको हो,” उनि भन्छन्।

गरुडपुराणमा मानिसको मृत्यु भएपछि ११ दिनमा वृषसर्ग गर्नुपर्ने परम्परा छ । त्यसदिन मृतक परिवारले जिउँदो गाई र त्यसका लागि आवश्यक जग्गा दान दिए मात्र मृतकको आत्मा शान्ति हुन्छ भनेको छ ।

जग्गा र गाई दान गर्ने विकल्प खोज्दै जादा वृषसर्ग कर्म नगरेपनि स्वर्गको ढोका खोल्ने भाद्र शुक्ल प्रतिपदाको दिन गाईजात्रा गर्दा मृतकले गाईको पुच्छर समातेर वैतरणी नदी तर्छन भने धार्मिक विश्वास भएर नेवार समुदायले यो पर्व मनाउन थालेको अर्को संस्कृतिविद ओम धौभडेलले बताए । शोक र मृत्युसँग सम्बन्धित यस जात्रामा मध्यकालदेखि नै हाँस्यव्यंग्य र ख्याल ठट्टा शुरु भएको उनले थपे । राजा प्रतापमल्लले गाईजात्रा गरेर मृत्यु सत्य हो भन्ने दर्शाउँदा समेत रानीको मन शान्त नभएपछि हास्ँय रसको प्रयोग भएको कथा पनि रहेको उनले जानकारी दिए ।

“प्रारम्भमा गाई यात्राको रुपमा रहेको यो पर्व मध्यकालमा गाईजात्रा भएको हो । पहिला गाईलाई नगर परिक्रमा गराए मृत्युसंस्कार पुरा हुन्थ्यो पछि गाईसँगै विभिन्न बाजागाजा पनि राखियो त्यसपछि यात्राबाट जात्रामा परिणत भएको हो,” धौभडेल भन्छन्। गाईजात्राका अवसरमा बुधवार काठमाण्डौ उपत्यका सहित नेवारहरुकाे बाहुल्यता भएकाे बिभिन्न स्थानियतहहरुमा सार्वजनिक बिदा दिईएकाे छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved