झापा । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
उनलाई उत्कृष्ट काम गरेबापत जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाले प्रत्येक महिना जिल्लामा उत्कृष्ट काम गर्ने, असल चालचलन र विभागीय मूल्य मान्यता र निर्देशनअनुसार काम गर्ने एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ।
प्रहरी निरीक्षक विश्वकर्माले २२ असारमा कमल गाउँपालिका-६ मा रूपेशकुमार सदाले मादक पदार्थ सेवन गरी खुकुरीले सुमित्रा ऋषिदेवलाई प्रहार गरी घाइते बनाएर फरार रहेका सदालाई सप्तरीबाट पक्राउ गर्न सफल भएका थिए।
यसैगरि १८ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको, २६ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उत्कृष्ट प्रहरी घोषित गरेका हुन्।
यस्तै, मोटरसाइकल चोरीमा संलग्नलाई मोटरसाइकलसहित पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीकक्ष विश्वकर्मा अनुसन्धानमा अब्बल मानिन्छन्।
