डिकेन्द्र बस्नेत, झापा । झापा विर्तामोडमा रहेको सन्त पावल बिलिभर्स इस्टर्न चर्चले एक विशेष कार्यक्रमको आयोजना गरि क्याथेड्रल परिसरमा ओम शान्ति टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ ।
सोमबार एक कार्यक्रमको बिच सामाजिक कार्य अन्तर्गत फोहोर व्यवस्थापनका लागि बिर्तामोड डायोसिसका भिकार जनरल रेभ. फादर चित्र कुमार रुपाचाले बिर्तामोड नगरपालिका वाड न. ४ मा रहेको ओम शान्ति टोल विकास संस्थाका उपाध्यक्ष द्रोपती गणेश र सचिव गोकुल रिजाललाई स्ट्यान्ड सहितका ५० थान डस्टबिन हस्तान्तरण गर्नुभएको छ।
स्थानिय चर्चका डिकन फादर समर वाग्लेले सञ्चालन गर्नुभएकाे कार्यक्रममा सुरुवातको प्रार्थना चर्चका एल्डर दिलिप रमतेलले गरेका थिए ।
कार्यक्रममा द्रोपति गणेशले आफ्नो मन्तव्यको क्रममा भन्नुभयाे, “हाम्रो समुदायमा बिलिभर्स इस्टर्न चर्च पाउनु हामी भाग्यमानी छौं। चर्चले विभिन्न तरिकाले समाज र देशको लागि राम्रो काम गरिरहेको देखेका र सुनेका छौं जुन धेरै सराहनीय र प्रशंसनीय कार्य हो।”
टाेलका सचिव गोकुल रिजालले भने, “हामी फरक-फरक आस्था, जात र पृष्ठभूमिका हौं तर एकअर्काको हातमा हात मिलाएर अघि बढ्ने हो भने पक्कै पनि हाम्रो समुदायका लागि ठूलो काम गर्न सक्छौं। ओम शान्ति टाेल विकास संस्था डस्टबिन उपलब्ध गराएकोमा चर्चप्रति आभारी छौँ ।”
उक्त कार्यक्रममा रेभ. रुपाचाले बिलिभर्स इस्टर्न चर्चले समुदायका लागि गरेको कामको बारेमा जानकारी दिँदै कार्यक्रमलाई सफल बनाउनको लागि अमूल्य उपस्थिति सम्पूर्ण आमन्त्रितहरू र लाभार्थीहरूलाई धन्यवाद दिनुभयाे ।
सोही दिन चर्चले विर्तामोड नगरपालिका भित्र रहेका अति बिपन्र परिवारलाई १८० थान झुल वितरण गरेको छ ।

