सुर्खेत सम्बाददाता।मापसे र अपशब्दको निहुँमा ज्ञानेन्द्र शाहीको टोली र सुर्खेत सदरमुकाम नजिकका गाउँलेको शुक्रवार राती झडप भएको छ ।
शाहीको टोलीले खोलामा तार जाली र ढुंगाको काम गरिरहेका स्थानीय मजदुर युवाहरूसङ्ग अपशब्दसहित दुर्व्यवहार गरेपछि झडप भएको स्थानीयले जनाएका छन् ।
आफूहरूमाथि दुर्व्यवहार भएपछि युवाहरुले गाउँले गुहारेका थिए । राती गाउँले उर्लिएर प्रतिकार गर्दा शाहीको टोली सामान्य घाइते भएको स्थानीयहरू बताउँछन् ।
शाहीको टोलीेले आज बिहानैदेखि आफूहरूलाई एमालेले पिटेको हल्ला गरेको छ । कर्रेखोलामा रहेका काँग्रेस वडा सभापतिले ‘एमाले,काँग्रेस केही होइन, उनीहरूले बदमासी गरेपछि गाउँलेले प्रतिकार गरेको’ बताएका छन् ।
प्रहरीले गाउँले पाँच जनालाई भने पक्रेको छ । राती ११ बजे उक्त घटना भएको हो ।
प्रहरीका अनुसार घाइते एक जनाको टाउकोपछाडिबाट हल्का रगत आएको छ । राती ९ बजे भिडन्तको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बस्नेतको कमाण्डमा ६ जनाको टोली त्यसतर्फ गएको थियो ।
जहाँ स्थानीय २ सय जनाको भीड उत्रिएको देखिएपछि फेरि पछि प्रहरी निरीक्षक कनकबहादुर शाहीको नेतृत्वमा २० जनाको टोली घटनास्थल पुगेको थियो । यही टोलीले सम्झाइबुझाई गरेर राती २ बजे स्थानीय पाँच जना युवालाई नियन्त्रणमा लिएको हो ।
शाहीको टोलीमा रहेकामध्ये ललितपुरको गोदावरी ५ बस्ने वर्ष ४० को भूतपूर्व प्रहरी हवल्दार राजेश महतोको टाउकोमा सामान्य चोट लागेको छ । शाहीको गाडी चलाउने नुवाकोट विदुर ३ का वर्ष २६ कृष्ण पाण्डेको टाउकोमा पनि सामान्य चोट लागेको बताइन्छ ।
त्यस्तै जुम्लाका ज्ञानेन्द्र शाही, बागलुङ नगरपालिका १ की वर्ष २८ की नितु खड्का र शाहीको टोलीमा रहेका वीरेन्द्रनगर नगरपालिकाका वर्ष ३४ का लोक रोकाया सामान्य घाइते छन् ।
प्रहरीले स्थानीय २१ वर्षदेखि २८ वर्षसम्मका पाँच जना युवाहरू सुजनसारु मगर,ललित गाहा,टंक सलामी,घनश्याम सलामी, नवराज गिरीलाई हिरासतमा राखेको छ । ११ बजेको झडप साम्य हुँदा बिहानको २ बजेको थियो । खबर संंजाल
