सुचना चौतारी । नेपाल प्रेस युनियन कोशी प्रदेश समितिले १ करोडको अक्षयकोष स्थापना गर्ने भएको छ । कोशी प्रदेशको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा बुधबार प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा बसेको सचिवालय बैठकले युनियनमा आबद्ध पत्रकारहरुको हितका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर यही जेठ १० गते विराटनगरमा हुने विशेष समारोहमा अक्षयकोषको औपचारिक घोषणा गरिने अध्यक्ष नवोदितले बताए । अक्षयकोषमा समितिका पदाधिकारी र सदस्यले निश्चित रकम जम्मा गरेर शुभारम्भ गरिनेछ, त्यसपछि ‘एक सय अभियान’ पनि सञ्चालन गरिने नवोदितले बताए ।
देश तथा विदेशमा रहने युनियनमा आबद्ध पत्रकार, समाजसेवी, उद्योगी, व्यवसायी सबैलाई स्वेच्छिक रकम जम्मा गर्नका लागि आह्वान गरिने जनाएको छ । ‘दुर्घटना परेर हातखुट्टा भाँचिनुका साथै अन्य बिरामी भएर एक–दुई महिनासम्म काम गर्न नसक्ने अवस्था पनि आउँछ । त्यस्तो अवस्थामा २० हजार सहयोग गर्न सकियो भने बिरामीका लागि ठूलै राहत हुन्छ,’ अध्यक्ष नवोदितले भने, ‘त्यसका लागि कार्यविधि बनाइनेछ । पारदर्शीका लागि स्मारिका र सामाजिक सञ्जालबाट रकमसहित सहयोग गर्नेहरूको नाम सार्वजनिक गरिनेछ ।’
‘आजको भोलि अक्षयकोषले पूर्णता नपाउला तर सुरुवात गरेपछि कुनै न कुनै दिन पक्कै पूर्णता पाउनेछ,’ अध्यक्ष नवोदितले भने । अक्षयकोषले पूर्णता पाएपछि जिल्ला शाखाको सिफारिसमा प्रदेशभरिका युनियनमा आबद्ध पत्रकारहरुको दुर्घटना बिमासमेत गर्ने योजना रहेको जानकारी दिए ।
सचिवालय बैठकले आसन्न पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरी कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा अध्यक्ष नवोदित, उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासचिव संजीव वाग्ले र सचिव विनय बाह्राकोटी रहेका छन् । कार्यदलले जिल्ला तहमा रहेको विवाद समाधानका लागि समन्वय र सहजीकरण गर्नुका साथै जिल्ला शाखालाई सक्रिय र प्रभावकारी बनाउने भूमिका खेल्ने महासचिव वाग्लेले जानकारी दिए ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा यही जेठ १० गते बिहीबार बिहान ‘सक्रिय पत्रकारिताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि नियमित आहारबिहार’ भन्ने नाराका साथ सञ्चारकर्मीहरुबीच खुल्ला दौड प्रतियोगिता, अग्रज पत्रकार सम्मान, ‘प्रदेशको स्थायित्व र विकासका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचारगोष्ठी गरिने महासचिव वाग्लेले बताए ।
