काठमाडौ । ‘ओख्खो’, ‘बेल्कुल’ र ‘अनुरोध गरेको छु’ जस्ता थेगोले सामाजिक सञ्जालमा चर्चा कमाएका ६१ वर्षिय ‘भेलु बाजे’ अर्थात् मीनबहादुर बुढा मगरको बैशाख २० गते निधन भएको छ ।
आफू कसरी र किन बोल्दैछु भन्ने थाहा नपाउने तर त्यहि बोली संसारमाझ लोकप्रिय बनेका सोझा ब्यक्ति थिए ‘भेलु बाजे’ । विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गीता केसी नाम गरेकी महिलाले ४ दिन अघि शरीरका विभिन्न स्थानमा कुटपिट गरेर गम्भिर घाइते भएपछि उनलाई अस्पताल भर्ना गराइएको थियो । केसीले भेलुबाजेलाई घरमा बोलाएर रक्सी खुवाएको र टिकटकमा लाइभ बस्ने तयारी गर्दा चुरोट खानका लागि लाइटर बाल्दा ओच्छ्यान जलेको निहुँमा कुटपिट गरेकी थिइन् । ‘भेलु बाजे’ का ज्वाईका अनुसार घरमा उपचार नभई झन साह्रो हुन थालेपछि बैशाख २० गते विहान ११ बजेतिर अस्पताल पु¥याइएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । केसी बिरुद्ध जाहेरी दिइसकेको र भेलुबाजेको मृत शरीरलाई पोष्टमार्टमका लागि बाग्लुङ लगिएको छ । मदिरा सेवनका कारण कमजोर बनेका उनको शरीर सुन्निने, हातका छाला उप्किने, हात गोडा काम्नेलगायतका समस्या थिए । केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो ।
उनले केही हाँस्य टेलिशृंखलामा अभिनय र गीत गाउनेसमेत अवसर पाएका थिए । सामान्य ज्याला मजदुरी गरेर आफ्नो जीविकोपार्जन गरिरहेका ‘भेलु बाजे’ लाई टिकटकले एकाएक भाइरल बनाइदियो । एक जना व्यक्तिले उनको हातमा मोबाइल थमाइदिन्छन् र ¥यापर साकारले रेकर्ड गरेको अडियोलाई अन गरेर तपाईंसँग बोल्ने रे बाजे भन्छन् । उनलाई त्यो फोन आएको होइन, रेकर्ड गरिएको अडियो भन्ने भेउ पनि छैन । उनी त्यो अडियो सुनेर अडियोमा बोल्ने मानिसलाई गाली गर्न थाल्छन् । उनले कुरा गरेको भिडियो टिकटकमा एकाएक भाइरल हुन्छ । उनको बोल्ने टोन, तोडिलो जवाफलाई धेरैले मन पराउँछन् । त्यसपछि टिकटकर र युट्युबरहरु उनको वरिपरि दौडिन थाल्छन् । युट्युबबाट टिकटक हुँदै फेसबुक र ट्विटर प्रयोगकर्ताले पनि उनको बोल्ने शैली र भाषालाई एकदमै रुचाए । उनी आफ्नो कुरा अभिव्यक्त गर्न अर्कै भाषा र टोन प्रयोग गर्थे, जसलाई मानिसहरूले एकदमै रुचाए । उनले बोल्दा प्रयोग गर्ने बेल्कुल, हत्तेरिका, एकदम च्वाँक र पख्नुस् त लगायतका शब्दमा टिकटकमा थुप्रैले अभिनय पनि गरेका छन् ।
टिकटक र युट्युबमा यति धेरै भाइरल भएका ‘भेलु बाजे’लार्ई टेलिफिल्म ‘ख्यालठट्टा’ले पनि अभिनय गरायो । मनकामना रोधीघरले पनि उनलाई राधिका हमालसँग लाइभ दोहोरीमा घम्साघम्सी गरायो । वरिष्ठ संगीतकार बीबी अनुरागीले पनि ‘भेलु बाजे’सँग मिलेर ‘काटे डाली कैन’ गीत समेत रेकर्ड गराए ।
उनको साथमा मोबाइल थिए र घरमा टीभी पनि थिए, तर त्यही टिकटक र सामाजिक सञ्जालबाट नै उनी चर्चित भए । न अभिनयको ज्ञान, न त गीत संगीतको ज्ञान, तर भाइरल भएकै कारण उनले अभिनय गर्ने र गीत गाउने अवसर पाए । टिकटक र युट्युबले त उनको जीवनशैली नै परिवर्तन गरिदियो ।
गाउँमा ज्याला मजदुरी गरेर जीवन बिताएका मीन बहादुरलाई भाइरल गराउने तेजेन्द्र परियार र गनबहादुर पेस्तोल हुन् । एउटा विवाह कार्यक्रममा उनले खाना खाँदै गरेको भिडियो उनीहरूले टिकटकमा हालेका थिए । जसलाई एक रातमा १० लाख भन्दा बढीले हेरेका थिए । त्यसपछि उनीहरूले भेलु बाजेको अन्तर्वार्ता लिएर गामबेसी अपडेट र लिस्ने मिडिया युट्युब च्यानलमा राखे, त्यसलाई पनि धेरैले मन पराए ।
मीनबहादुरको भिडियो टिकटक र युट्युबमा भाइरल भएसँगै उनलाई टेलिफिल्म ‘ख्यालठट्टा’मा अभिनय गराउन निर्देशक नेत्र राउतले अफर गरे । ६१ वर्षको उमेर पुगिसक्दा एकपटक पनि काठमाडौं नआएका भेलु बाजेको काठमाण्डौं आउने रहर थियो । त्यसैले उनले त्यो अफरलाई स्वीकारे अनि ख्यालठट्टामा अभिनय गर्न १८ घण्टाको बस यात्रा गरेर उनी काठमाडौं आइपुगे । ‘ख्यालठट्टा’मा अभिनय गरेर केही अन्तर्वार्ता दिएर दुई दिनको काठमाडौं बसाइपछि उनी प्युठान नै फर्किए । भेलु बाजेले आफ्नै शैलीमा अभिनय गरे । उनले अभिनय गरेको ‘ख्यालठट्टा’को त्यो भागले युट्युबमा धेरै भ्युज पायो । दोस्रो पटक फेरि टेलिफिल्म टिमले उनलाई बोलायो । तर यो पटक भने बसमा काठमाडौं नजाने भनेर भेलु बाजेले भनेपछि उनलाई तेजेन्द्र र बमबहादुर मिलेर मोटरसाइकलमा भैरहवासम्म ल्याए । अनि त्यहाँबाट हवाईजहाजमा काठमाडौं ल्याए । यो पटक भने उनले काठमाडौंमा एक हप्ता बिताए । टेलिफिल्म ‘ख्यालठट्टा’को तीनवटा भाग र अर्को टेलिफिल्म ‘माइलो’मा पनि एउटा भागमा अभिनय गरे दोस्रो पटक भने उनलाई अभिनय गर्न अलि सहज भएको पुस्कर सुनाउँछन् ।
भेलु बाजे एकदमै रमाइलो गर्न मन पराउने व्यक्ति थिए । टेलिफिल्ममा अभिनय मात्र होइन, दोस्रो पटक काठमाडौं आउँदा उनले गीत समेत गाउने अवसर पाए । संगीतकार बीबी अनुरागीसँग मिलेर उनले ठाडी भाका ‘काटे डाली कैन’ गीत रेकर्ड गराए । आम्दानीको केही स्रोत नभएका भेलु बाजेले टेलिफिल्ममा अभिनय र गीत गाएबापत राम्रै पारिश्रमिक पाए । दोस्रो पटकको एक हप्ता बसाइपछि उनी प्युठान नै फर्किए ।
काठमाडौंबाट फर्किएपछि उनलाई गाउँलेहरूले भव्य स्वागत गरेका थिए । घर फर्केर फेरि उनी घरायसी काममा नै व्यस्त रहे । घरमा उनकी श्रीमती विष्णु बुढा थिइन् । उनी पनि बितिन् । भेलु बाजे लामो समयदेखि मृगौला रोगबाट पीडित थिए । अत्याधिक रक्सी सेवनबाट पेनक्रियाजमा क्षति भएको थियो । उनको उपचारका लागि युबट्युबर भोजबहादुर थापाले सहयोग गरेका थिए ।
भेलु बाजेको निधन पछि संस्कृतिकर्मी ओम श्रमिक लेख्छन्, ‘पुँजीवादी समाजमा जब सम्म बस्तु या मानिस उपभोग्य रहन्छ तब सम्म मात्रै उसको औचित्य रहन्छ वा त्यसलाई सबैले हाई हाई गर्छन् वा वरिपरि पर्छन् । जब त्यो मानिस वा बस्तु संकटपूर्ण अवस्थामा पुग्छ उसलाई उपभोग गर्नेहरुले उपिँयाले बाख्रालाई छोडे जसरी छोड्छन ! भेलुबाजे उर्फ मीन बहादुर बुढा मगर त्यसैको एक उदाहरण हुन ! युटुबे र टिकटके हरुले उनको मौलिक र हांस्यरस पूर्ण लवजलाई खुब प्रयोग गरेर लाखौं पैसा कमाए ! जब ऊनी बिरामी परे उनलाई सबैले त्यागे र उनको मृत्यु भयो ! हाम्रो समाज कस्तो छ भन्ने देखाउन उनलाई हेरे हुन्छ ।’
माहाप्रतिवादबाट साभार
