काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बने लगत्तै मुलुकमा धार्मिक द्वन्द्व बढ्न थालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु धार्मिक समुदायलाई उत्तेजित पार्दै प्रदर्शन थालेपछि द्वन्द्व बढेको हो ।
प्रतिनिधिसभामा १४ सिट रहेको राप्रपा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने भन्दै सडक आन्दोलनमा छ । संसद बनेर राज्यको सेवा सुविधा पनि लिने र जनतालाई धार्मिक उत्तेजना फैलाउँदै द्वन्द्व चर्काउन लागि परेको छ ।
गृहमन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले चैत्र २५ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्रचार गर्दै अल्पसंख्यक धार्मिक समुदायमाथि दमनको नीति लिएको छ ।
शाखा अधिकृत अशोक कुमार आचार्यद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, “धर्म प्रचार–प्रसार तथा धर्म परिवर्तनको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भएका बिदेशी नागरिकहरु गैरकानूनी रुपमा धर्म प्रचार–प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न हुने गरेको साथै कतिपय विदेशी नागरिकहरु बिना प्रवेशाज्ञा हिँडडुल गर्ने गरेको पाइएकोले विदेशी नागरिकहरुको कानून विपरीतका गतिविधिहरुको सुक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्नुहुन आदेशानुसार अनुरोध छ ।”
यसै सन्दर्भमा चैत्र २२ देखि सुनसरीको दक्षिणी क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच द्वन्द्व चर्किएको छ । हरिनगरा, कोशी, बर्जु, इनरुवा, भोक्राह नरसिंह र देवानगञ्जमा दोहोरो भिडन्त भएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु घोषणा गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हिन्दु ८१.१९ प्रतिशत, बौद्ध, ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किरात ३.१७, ख्रीष्टियन १.७६, प्रकृति ०.३५, बोन ०.२३, जैन ०.०१, बहाइ र शिख धर्म मान्ने ३ सय जना भन्दा कम रहेका छन् । यस्तो अवस्थामा हिन्दुले जे भन्यो त्यो हुँदै आएकोमा अन्य धार्मिक समुदायमाथिको ज्यादती र दमन तत्काल बन्द गरेर राज्यले अल्पसंख्यकहरुको संरक्षण गर्नु पर्ने र धार्मिक सद्भाव कायम राख्न उत्पीडित समुदायले माग गरेका छन् ।
