काठमाडौं । लामो समयदेखि आन्तरिक विवादको दलदलमा फसेको राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले समस्या समाधान गर्न विशेष महाधिवेशन घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकारसम्मेलन गरी पूर्व–अध्यक्ष सिबी गहतराजले संस्थालाई बन्दक बनाएको भन्दै ६० दिनभित्र विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर निकास दिन लागिएकोसमेत जनाएको छ ।
सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठले समस्या समाधानको लागि जिल्ला प्रशासनसम्म पुगेको र त्यहाँ पनि हल नभएको बताउँदै भने,“सिडियो साबको रोहबरमा कयौं पल्ट विभिन्न विकल्प दिदा पनि सिबी जी मिलेर अधिवेशनमा जान तयार हुनुभएन ।” ‘जुनसुकै निर्णय गरे पनि आफ्नो नेतृत्वमा महासंघ नहुनेभए संस्था नै बन्द गर्ने भनेपछि, यो अन्तिम विकल्पमा आउन बाध्य भयौं ।’ श्रेष्ठले थपे ।

विगत लामो समयदेखि सिबीको पक्षमा रहेर सहयोग गर्दै आएको बताउँदै श्रेष्ठले पछिल्लो पटक संस्थालाई अनिर्णयको बन्दी बनाएर भन्दा निकास दिन, सबै सदस्यहरुलाई एकतामा ल्याएर संस्थालाई गतिशील बनाउँ भन्ने सल्लाह दिँदा आफूसँग चिडिएको जनाए । समस्याको निकासका लागि काबा अध्यक्ष उद्धब प्रसाद चिमौरियालाई पनि मिलाएर जाउँ भनेपछि आफूलाई मनोवैज्ञानिक दबाब दिन थालेको बताउँदै भने,“केही अमुख गुण्डाहरु पठाएर भौतिक आक्रमण गर्नेसम्मको धम्की दिए, म यहि मञ्चबाट सिबी जीलाई चेतावनी दिन्छु, कि तपाईका ठिटाहरुसँग डराईन्न ।”
सिबीले संस्थालाई पैतृक सम्पत्ति जस्तै पेवा बनाएकोले उनको साथ छाड्नु परेको बताउँदै श्रेष्ठले भने,“धार्मिक संस्थामा व्यक्ति हावि भएर गुण्डाराज चल्दैन, तपाईको एकल चुरिफुरीले केहि हुनेवाला छैन, बरु घुँडा टेक्नुस् माफी माग्नुस, मिलेर अधिवेशनमा जाउँ, के थाहा ? फेरी चौथो कार्यकाल पनि पाई पो हाल्नु हुन्छ की ! ”

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय अध्यक्ष डा.जित घलेले आम ख्रीष्टियनहरुको आस्थाको धरोहर महासंघलाई समस्याको दलदलमा फसाएको भन्दै नेतृत्वप्रीत रोष व्यक्त गरे । पूर्वअध्यक्ष गहतराजले ३ कार्यकाल एकलौटी चलाएको र संस्थालाई नाजुक अवस्थामा पुर्याएको भन्दै निकासको लागि मार्ग प्रसस्त गर्नुपर्नेसमेत सुझाए । घलेले इसाई धर्मशास्त्रको विरुद्ध गएर सिबीले आफ्नै सहकर्मीहरुलाई धाक–धम्की दिनु गलत भएको बताउँदै भने,“प्रिय मित्रले कुन शास्त्र पढ्नुभयो कुन्नि ! फल फलाउनु राम्रो हो,विरुवा काट्नु राम्रो हैन, तपाईको स्वर्थका लागि संस्था मार्नु गलत हो ।”
घलेले इसाई धर्मावलम्बीको संरक्षक संस्थाको रक्षाका लागि आफू राज्यको जुनसुकै तहसम्म गएर पहल तथा सहयोग गर्न तयार रहेको बताउँदै, नयाँ नेतृत्व चयन गर्न ढुक्कसँग अधिवेशनमा लाग्न शुभकामना दिए । ७० वर्षिय सह–अध्यक्ष डोमा राईले आफ्नो जीवनका महत्वपूर्ण समय इसाई धर्मको प्रवद्र्धन र संरक्षणका लागि विताएको जनाउँदै, यसरी अहिलेको अवस्था आएकोमा दुखि भएको बताईन ।
माहासचिब ज्ञानेन्द्रराज सापकोटाले सह–अध्यक्ष तुलसी प्रसाद श्रेष्ठको नृत्वमा रहेको टोलिले सिबी र चिमौरियासहितलाई मिलाउन लामो समयदेखि पहल गरे पनि सिबीको एकल हठको कारण निकास ननिस्किएपछि विशेष महाधिवेशन गर्ने अवस्थामा पुगेकोे बताए ।
उपमहासचिब उपेस नौबागले पूर्वअध्यक्ष सिबी गहतराजलाई आफ्नो एकलकट्टे व्यवहार र हठी प्रवृत्ति छाडेर एक हुन सुझाएका छन् ।
