अबिन मेन्याङ्ग्बाे । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्षमा राज मल्ल चयन भएका छन् । गत शुक्रबार सम्पन्न चौथो अधिवेशनले अध्यक्षमा मल्लसहित १३ जनाको कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राजदूत लम्सालले कुवेतमा रहेर पत्रकारितामा मात्र सिमित नभएर सामाजिक कार्यमा समेत सक्रियता रहेकाले खुसी व्यक्त गरेका थिए । पत्रकारलाई सहि सूचना दिन र सूचना पाउनु पर्ने हकलाई कुन्ठित नगरी दूतावासबाट हुने सूचना प्रवाह सधैं हुने र महासंघसँग सहकार्य गरि कुवेतमा रहेका श्रमिकको हितको लागि काम गर्न तयार रहेको बताए ।
त्यसैगरी पत्रकार महासंघका केन्द्रीय महासचिव पुरीले लोकतान्त्रिक मुल्य मान्यतामा रही पत्रकारिता गर्न आवश्यक रहेको र अहिले सामाजिक संजालमा भाइरल हुनका लागि आएका विकृति र विसंगतिलाई चिर्दै स्वच्छ पत्रकारिता गर्न जरुरी रहेको बताए । साथै कुवेत शाखाको कार्य प्रशंसनीय रहेको र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै महासंघ केन्द्रले कुवेत शाखाको कार्य प्रति ध्यानाकर्षण भएको बताए ।
कार्यक्रमका सभापति समेत रहेका निवर्तमान अध्यक्ष नवराज पन्थीले प्रवासमा १२ घण्टा काम गर्दै परोपकारी पत्रकारिता गर्दै गर्दा विभिन्न समस्या बाधाहरु झेल्दै सूचनाको हक र अधिकारलाई पाठकसामु पुर्याउदै आएको बताए । कार्यक्रम सम्पन्न गर्न अहोरात्र खट्ने तथा कार्यक्रमका प्रायोजक सस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गरेका थिए ।
महासंघको सचिवमा हरी बहादुर बानियाँ, सह-सचिवमा गुलाम नबि मन्सुर र कोषाध्यक्षमा सुरेश गुरूङ निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यहरु मनोज थापा, प्रेम कुमार जिमी, मान बहादुर तामाङ, बिजय धामी, आङकाजी शेर्पा, बिजय कुमार तामाङ, जय नारायण थारू माझी र रामकाजी तामाङ चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीको उपस्थितिमा चौथो अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । भने दूतावासका प्रथम सचिब प्रेमराज गौतम, गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, आईसीसी सदस्य हरी लावती , एफएनजे कुवेतका सस्थापक अध्यक्ष सुजन केसी, भूतपूर्व अध्यक्ष हरीकृष्ण न्यौपाने (अनलाईन जुम मार्फत), एनआरएनए एनसीसी कुवेतका वरिष्ठ उपाध्यक्ष होमनाथ गिरी, नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाईली बिरही, नेपाली जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष मनु भुजेल, प्रवासी नेपाली एकता मन्च कुवेतका महासचिब शङ्खर पौडेल, प्रवासी नेपाली एकता मन्च (एकिकृत समाजवादी) का उपाध्यक्ष टिका पौडेल, अल मुजैनी एक्सचेन्ज कुवेतका नेपाली बजारका मार्केटिङ म्यानेजर राम बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
