पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरि २० गते सम्म mाराम भर्न पाइने इपीएस शाखाले सूचना जारी गरेको छ ।
मंगलबार बसेको महानिर्देशकस्तरको निर्णयले उक्त म्याद २ दिन थप गरिएको हो । आवेदन आह्वान गरिएको पहिलो दिन पुस १६ गते प्राविधिक कारणले अनलाइनमा समस्या आएको थियो । त्यस्तै मानवीय समवेदनालाई समेत मध्यनजर गर्दै २ दिन म्याद थप गर्ने निर्णय गरिएको महानिर्देशक डण्डुराज घिमिरेले बताउनु भएको छ ।
यसअघि सन् २०२३ मा एउटा क्षेत्रमा आवेदन फारम भरेकाहरूलाई अर्कोमा भर्न नपाउने भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन रोक लगाइएको थियो । त्यो क्रममा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका थिए भने पानी जहाज निर्माण क्षेत्रका युवाहरूले आन्दोलन गरेका थिए ।
विभाग स्रोतका अनुसार हालसम्म १४ हजारभन्दा बढीले मात्र आवेदन भरेका छन्। जबकि शीप बिल्डिङका लागि भाषा परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएकाको संख्या ३० हजारभन्दा बढी छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबारै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग भाषा परीक्षा विवादसम्बन्धी पछिल्लो घटनाबारे छलफल गरेको थियो ।
छलफलका क्रममा भाषा विवादमा सुरूदेखिको विस्तृत जानकारी राजदूतलाई गराइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए ।
नेपालीहरू इमानदार हुने हिसाबले नेपालबाट सबैभन्दा धेरै कामदार लैजाँदै आएको दक्षिण कोरियाले यसलाई निरन्तरता दिँदै अब रोस्टरमा लामो समयसम्म रहनुपर्ने लगायत समस्या समाधान सम्बन्धी पनि काम हुने बताएको छ ।
एचआरडी सर्भिस अफ कोरियाले ३१ जुलाई २०२३ मा एउटै वर्षमा एक व्यक्तिले फरक–फरक क्षेत्रका लागि आवेदन दिन नपाउने भन्दै पत्र पठाएको थियो । यो बेहोरा उल्लेख गर्दै इपिएस शाखाले गत साउन १५ गते एउटा सूचना सार्वजनिक गरेको थियो । उक्त सूचनापछि गत पुस ५ गते शीप बिल्डिङमा सहभागी सुरज पाठकसमेत १८ जनाले उत्पादनमूलक क्षेत्रको परीक्षामा आवेदन दिन पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालत पाटनले पुस ५ गते मुद्दा दायर गर्ने १८ जनालाई उत्पादन क्षेत्रमा रोजगारीका लागि परीक्षा आवेदनमा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशअनुसार १८ जनालाई मात्रै शाखाले परीक्षा आवेदन दिन बोलाएको थियो ।
बाँकी युवाहरू पनि उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए । बालकुमारी सडकमा भएको आन्दोलनका क्रममा गत शुक्रबार दुई युवाहरूको ज्यान समेत गयो ।
सोही दिन उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको थियो ।

