आजदेखि काठमाण्डाैमा आयाेजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बाेल्दै उहाँले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरि त्यस क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडी लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताएका छन् । प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।
ललितपुरको बालकुमारीमा हिजाे शुक्रवार भएको घटनामा दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।
प्रधानमन्त्रीले आज बिहान उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराईलगायत सुरक्षा अङ्गका प्रमुखसँग त्यस घटनाका बारेमा जानकारी लिएका हुन्। प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग पनि घटनाका सम्बन्धमा छलफल गरिएको बताए ।
