धरान । हरेक वर्ष डिसेम्बर २५ का दिन मनाईने ख्रीष्टमस यसपटक धरानका चौक चौकमा ख्रीष्टमस साँगितिक साँझ–२०८० शुरु भएको छ ।
धरान इसाई पाष्टर अगुवा संघको मंसिर १२ गते बसेको बैठकले ख्रीष्टमसका अवसरमा ख्रीष्टमस सांगितिक साँझको आयोजना गर्ने निर्णय गरेको संघका सचिव पाष्टर गिदोन लामिछानेले जानकारी दिएका छन् ।
ख्रीष्टमस साँझ मंसिर २४ गते देरालीबाट शुरु हुने भएको छ । बेथेल चर्च धरान ५ को व्यवस्थापनमा हुने उक्त कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै सुसमाचारिय प्रवचन हुनेछ । कार्यक्रममा ३ सय भन्दा बढिको सहभागिता हुने बेथेल चर्चले जानकारी दिएको छ ।
त्यसैगरी मंसिर २६ गते देविगाउँ सिरान बरगाछीमा ख्रीष्टमस साँझ हुनेछ । बेथलेहेम चर्च धरान ५ को व्यवस्थापनमा हुने उक्त कार्यक्रममा इसाई कलाकारहरुले सांगितिक प्रस्तुती दिने भएका छन् भने पाष्टर गिदोन लामिछानेले ख्रीष्टमस सन्देश बोल्ने कार्यक्रम रहेको पाष्टर संघका उपसचिव पा. अशोक आले मगरले जानकारी दिए । मंसिर २८ गते धरान १५ को शान्तिचौकमा ख्रीष्टमस साँझ हुने भएको छ ।
उक्त कार्यक्रमको व्यवस्थापन शान्ति चर्च धरान १५ ले गर्ने भएको छ । कार्यक्रममा गित, नृत्य तथा प्रवचन कार्यक्रम रहेको छ । साँझ ५ बजेदेखि ७ बजेसम्म हरेक चौकमा कार्यक्रम रहने पाष्टर संघका अध्यक्ष विशप ज्योती थुलुङले बताए ।
त्यस्तै, पुष १ गते जिरोप्वाइन्ट चौकमा चर्च अफ गड धरान १३ को व्यवस्थापनमा ख्रीष्टमस साँझको आयोजना हुने भएको छ भने पुष ३ गते नेपाल मुक्ति मण्डली धरान ११ को व्यवस्थापनमा कुर्विताचौकमा ख्रीष्टमस साँझको आयोजना गरिएको छ । त्यसका साथै डिसेम्बर १ अर्थात् मंसिर १५ गतेबाट नै ख्रीष्टमस कार्यक्रम शुरु भएको छ । संसारभरी मनाईने ख्रीष्टमस धरानमा रहेका ८३ भन्दा बढी चर्चहरुले मनाउँदै आएका छन् ।
ख्रीष्टमस सांगितिक कार्यक्रम क्यारोल चर्चका जवानहरुले झण्डै १ महिना सुसमाचारिय रुपमा मनाउँदै आएका छन् । इसाईहरुले डिसेम्बर महिनाभरी आफ्नो घर बत्तिको झिलीमिलीले सजाउने, स्टार झुण्ड्याउने र इसाईहरुको पहिचान झल्काउने कार्यक्रमको आयोजना गरेका छन् ।
येशू ख्रीष्ट सारा संसारका मुक्तिदाता भएको र उहाँको जन्म इज्रायलको बेथलेहेममा कन्य मरियमको कोखबाट भएको आधारमा इसाईहरुले ख्रीष्टमस मनाउँदै आएका छन् । ख्रीष्टमसमा ख्रीष्टको जन्म कसरी, किन र कहिले भयो भन्ने विषयमा सन्देश सुनाइन्छ । उक्त सन्देश सुनाउन गीत, नृत्य, अभिनय तथा प्रवचनलाई माध्यम बनाउँदै आइएको छ ।
यस वर्षको डिसेम्बर २५ अर्थात् ‘ख्रीष्टमस डे’ पुष ९ गते सोमबार परेको छ । उक्त दिन सरकारले सार्वजनिक विदा समेत दिइसकेको छ । येशु ख्रीष्टको जन्मका अवसरमा मनाइने पर्व ख्रीष्टमस डे इसाईबाहेक अरुले पनि खुशी, उमङ्ग र उत्साहको पर्वका रुपमा मनाउने गरेका छन् ।
