कृष्ण कुँवर, अबुधाबी। नेपाली दुतावास अबुधावीमा मंसिर १४ गते अर्थात् नोभेम्बर ३० तारिखमा आइपुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबदेखि विदेशबाटै नेपालीहरुले मतदान गर्न पाउने बताएका छन् ।
१० हजार भन्दा बढि नेपाली भएको मुलुकमा दुतावास खोल्ने समेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई अबुधाबीको कर्नेसमा रहेको पाँचतारे होटल शेराटनमा भब्य स्वागत गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्मेलन को–अप २८ मा सहभागी हुन नोभेम्बर २९ मा संयुक्त अरब इमिरेट्स (यु.ए.ई.) पुगेका थिए । प्रधानमन्त्री प्रचण्डका लागि ३० तारिकमा दुतावासले स्वागत कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमबाट यु.ए.ई.मा रहेका नेपालीहरुलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।
भ्रमणको प्रबन्ध गरिदिएकोमा यु.ए.ई. सरकार, काठमाण्डौ स्थित युएईको दूतावास लगायत सबैलाई प्रचण्डले धन्यवाद दिएका थिए । उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनको असर नेपाल जस्तो बिकासउन्मुख् देशले धेरै भोग्नुपरेको बताए । यो बिषय कोअप् २८ मा राख्ने र बिश्वको ध्यान आकर्षण गराउने बताए ।
जलवायु परिवर्तनमा नेपालले गरेका काम पनि जानकारी गराउने र प्राकृतिक क्षती हुन जोगाउन वित्तीय र प्राबिधिक साहायता जुटाउन पहल गर्ने उद्देश्यले पुर्व तयारीका साथ आफु युएई आएको प्रधानमन्त्री प्रचण्डले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले अहिले अनुकुल वातावरण नेपालमा रहेकोले उर्जा, प्रविधि, पर्यटन, कृषि, अन्य प्राथमिकताका क्षेत्रमा लगानी गर्न अन्तरराष्ट्रलाई आव्हान गर्ने बताए ।
नेपालको असंग्लग्न परराष्ट्र नीति भएको, आफु भारत, इटाली, अमेरिका, चीन जाँदा भएका सहमति, समझ्दारीलाई सन्तुलित ढंगले अगाडि बढाउने र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्न नेपालको आर्थिक अबस्थाको बिषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले महत्वपूर्ण भूमिका खेलेको र सकारात्मक नतिजा आएको प्रधानमन्त्री प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको अर्थतन्त्रको ठुलो हिस्सा रेमिटेन्स्ले थामेको छ । हामीले आत्मासाथ गरेका छौँ । तपाईंहरुले उल्लेखनीय योगदान पुर्याउनु भएको छ । बैदेशिक रोजगारीमा रहि बिभिन्न पेशा र व्यवसाय गरेका सवै नेपालीहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं । तपाईंले आर्जन् गरेको सीप तथा दक्षतालाई देशको समग्र विकासमा लगानी गर्न अब ढिला गर्नहुन्न ।”
उनले भने, “आफुले श्रम पसिनाबाट आर्जेको रकम औपचारिक प्रणालीबाट मात्र नेपालमा लगानी गर्न बिशेष अनुरोध गर्दछु ।” प्रधानमन्त्रीले भने, “तपाईंहरुलाई सरकारको अनुभती गराउने स्थानीय सरकार हो, सरकारले स्थानीय तहबाट नै श्रम, सीप उद्यमशीलता लगायतका सेवा प्रदान गर्न सक्नेगरी काम थालनी गरेको छ ।”
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले भने, “बैदेशिक रोजगारको क्रममा अलपत्र परेका नेपालीहरुको सिघ्र उद्दारका लागि नेपाल सरकार सँधै गम्भिर रहेको छ । इस्राएलमा रहेका नेपालीहरुलाई उद्दार गर्ने पहिलो देश नेपाल नै बन्यो । बिदेशमा रहेका नेपालीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सरकार गम्भिर रहेको छ ।”
उनले भने, “राष्ट्रबैंकले श्रम स्वीकृति लिई बैदेशिक रोजगारमा जाने नेपाली हरुको लागि बिप्रेषण बैंक खाता खोल्ने ब्यबस्था गरेको, सो खातामा अन्य बचतकर्तालाई भन्दा बढी व्याज दिने व्यवस्था राष्ट्रबैंकले शुरु गरेको छ ।”
प्रधानमन्त्रीले दुई देश बीच सम्पन्न र समझदारीको कार्यन्वयन लगायत् सम्बन्ध बिस्तारमा नागरिकको हक–हितको पक्षमा सक्रिय रुपमा काम गर्न दुतावास र कर्मचारीहरूलाई बिशेष निर्देशन दिएका थिए । बैदेशिक रोजगारका क्रममा अशक्त भई कोमामा भएकाहरुलाई नेपाल फिर्ता ल्याई उपचार गराउने, श्रम स्वीकृति लिई बिदेशमा गएकाहरुको शब् ब्यबस्थापन गर्ने, संबेदनशील र चुनौतीपूर्ण काम आफुसँग रहेको र गन्तब्य मुलुकमा नेपाली कामदारलाई तोकिएको सजाएँ नेपालमा नै भुक्तानी गर्ने व्यवस्थाको लागि सम्बन्धित मुलूकसँग पारस्पारिक कानूनी दायरामा सम्झौता गर्नको लागि सरकारले पहल गरेको र अझै धेरै काम आफुसँग रहेको प्रधानमन्त्रीले बताए ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आगामी चुनाबमा बैदेशिक रोजगारीमा गएकाहरुलाई सरकारले मत हाल्ने ब्यबस्था मिलाउने बताए ।
नेपालको जनसंख्याको ठुलो हिस्सा बिदेशमा रहेको र नेपाली लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण पाटो निर्वाचन मा भाग लिन नपाएको बारे सरकारले गम्भिर रुपले लिएको र उनीहरुको महत्वपूर्ण मत बिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्दै बैधानिकरुपले मतदानमा भाग लिन निर्वाचन आयोगले मतदाता नामावली संकलन् गरी विदेशबाट नै मत हाल्ने व्यवस्था गर्ने र आगामी चुनावमा मत हाल्ने व्यवस्था मिलाउने बताए ।
त्यस्तै, दश हजार भन्दा बढी नेपाली भएका मुलुकमा कुटनीतिक नियोगको स्थापना गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । यही बिषयलाई मध्यनजर गर्दै पोर्चुगल्मा दुतावास खोल्ने निर्णय भैसकेको जानकारी दिए । रोमानीया, माल्टा, साइप्रस्, क्रोयशिया, माल्दिभ्स, पोल्याण्ड, टर्की लगायतका अन्य देशहरूमा पनि नेपाली कुटनीतिक नियोग स्थापना गर्ने कार्य अगाडि बढाईएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराए ।
उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री बिरेन्द्र प्रसाद महतो, नेपालका लागि यु.ए.ई. का राजदुत अब्दुल्ला अल–शाम्सी, यु.ए.ई.का पुर्व राजदुत सईद्–हम्दान अल–नक्बी, नेपालबाट आएको भ्रमण दलका उच्च अधिकारी, नेपाली समाज, एन.आर.एन.ए., पत्रकार महासंघ, नेपाल बिजनेस काउन्सिल्, बैंकर, सामाजिक अगुवा तथा यु.ए.ई. मा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । एनआरएनए युएईका कार्यबाहक अध्यक्ष मनोजकुमार सैंजु सहितको टोली र नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्यालको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई एकबुँदे ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले आफुले अमरबहादुर बमको उद्दारका लागि यस अघि पनि पहल गरेको, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, स्व. शुशिल कोइराला, लगायतले पहल गरेको आफुलाई जानकारी भएको भन्दै आफ्नो तहबाट सक्दो प्रयास गर्ने बताए ।
युएईस्थित नेपाली दुतावासका श्रम सहचारी दिनबन्धु सुबेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा राजदूत तेज बहादुर क्षेत्रीले प्रधानमन्त्रीको भ्रमणको सफलताको कामना गर्दै स्वागत् मन्तब्य राखेका थिए । अबुधाबी कर्नेसमा रहेको शेराटन पाँचतारे होटलको सभाहल भरिएको थियो भने कार्यक्रम पश्चात् दुतावास्द्वारा प्रेमभोजको समेत आयोजना गरिएको थियो ।
