उदयपुर। उदयपुरको त्रियुगा नगरपालिकाका तत्च्कालिन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल पक्राउ परेका छन् । त्रिनपा ११ नम्बर वडाका स्थायी बासिन्दा ढकाललाई लिखित सम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
राजश्व परामर्श सदस्य सचिवसमेत रहेका ४७ वर्षीय ढकाल सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्धा दर्ता भएपछि फरार अवस्थामा रहदै आएका थिए । प्रहरीको आँखा छली जोगिदै आएका उनी मंसिर ११ गते पक्राउ गरिएको हो । ढकाललाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्। नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्यसचिव ढकाल फरार अवस्थामा सोमबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सरकारी कागजातमा किर्ते दस्तखत गरेको आरोपमा उजुरी परेपछि त्रियुगा नगरपालिका ११ का ४७ वर्षीय ढकाल केही दिनयता फरार थिए। उनलाई खोजविनको क्रममा सोमबार फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले सरकारी कागजातमा किर्ते हस्ताक्षर गरेको उजुरी परे अनुसार अख्तियारबाट छानबिन गर्ने क्रममा नगरपालिकामा पत्र प्राप्त भएको बताए। राजश्व संकलन सम्बन्धी विभिन्न खाले सरकारी लिखतमा किर्ते हस्ताक्षर गरेको आरोपमा छानबिन गर्ने क्रममा ढकाल दोषी ठहरिने देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार नगरपालिकाले प्रशासन गुहारेको बस्नेतले बताए।
नगरपालिकाको अघिल्लो कार्यकालमा राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिको सदस्यसचिव रहेका बेला गरेको किर्ते कागजात बनाई प्रमुख प्रशासकीय अधिकृत, उपप्रमुखलगायत व्यक्तिको किर्ते हस्ताक्षर गरेको आरोपमा अहिले ढकाल पक्राउ परेको मेयर बस्नेतले बताएका छन्। ढकालमाथि नगरपालिकाको नदीजन्य पदार्थको ठेक्का प्रकरण र विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीले नगरपालिकामा राजश्वबापत बुझाएको विभिन्न शीर्षकको रकमको रसिदसमेत नक्कली बनाएको आरोप लागेको बस्नेतले बताए।
विदेश पढ्न जाने विद्यार्थीले नगरपालिकाबाट सिफारिस लिएबापत प्रतिव्यक्ति लिइने लगभग २६ हजार रुपैयाँको रसिदमा क्युआर कोड नहालेको पाइएकाले कतिपय विद्यार्थी पढाई छाडेर फर्कनु पर्ने अवस्था आएको पनि मेयर बस्नेतले बताए। ‘राजश्व सङ्कलनमा ढकाल धेरै थरी किर्ते गरेको आरोपमा मुछिँदै छन्’ मेयर बस्नेतले भने ‘किर्ते कागजात बनाई हाकिम र उपमेयरको किर्ते हस्ताक्षर गर्ने, विदेश पढ्न जाने विद्यार्थीलाई क्युआर कोडबिनाको सिफारिस पत्र दिएर रकम खल्तीमा हाल्ने कामसमेत उनले गरेको पाइएको छ।’
