जाजरकोट । जाजरकोट भूकम्पपछि त्रिपालमा बस्दै आएका ५ पीडितको चिसोका कारण मृत्यु भएको छ । शुक्रबार २ जना, गत बुधवार १ जना र अघिल्लो शुक्रबार दुईजना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको हो ।
मृत्यु हुने सबै वृद्धवृद्धा हुन् । जाजरकोट बारेकोट गाउँपालिका- ४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट १ का ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो ।
यस्तै भेरी नगरपालिका- २ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधवार मृत्यु भएको हो । त्यसैगरी गत शुक्रबार नलगाड नगरपालिका ४ का च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ८४ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।
पछिल्लो समय ज्यान गुमाएका तीनै जना दमका बिरामी थिए । त्रिपालको सहारामा रात कटाएका अधिकांश गाउँमा १५र२० जना बिरामी रहेको सम्बन्धित जनप्रतिनिधिहरूले जनाएका छन् ।
सबैभन्दा बढी क्षति पुगेको नलगाडमा चिसोले अधिकांश भूकम्पपीडितमा विभिन्न स्वास्थ्य समस्या देखिएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । चिसोका कारण झाडापखाला, ज्वरो, रुघाका बिरामी बढेको उनले बताए । चिसोले दमका बिरामीलाई बढी सकस भएको छ ।