काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका ४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको हो। त्यहाँका वडाध्यक्ष बद्री पन्तका अनुसार उनीहरू दीर्घरोगी हुन् । ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एकसाता अघि नगर अस्पताल दल्लीमा उपचार गरी घर फर्किएका थिए। उनी दमका बिरामी थिए।
भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि बारीको पाटामा त्रिपालमुनि बसिरहेका थिए। मायाडाँडाका ४५ वर्षीया पम्फा रावलको पनि बिहीबार दिउँसो निधन भएको वडाध्यक्ष पन्तले जानकारी दिए। उनी पम्फा दमसँगै मुटुरोगी पनि हुन्।
अविवाहित भएका कारण पम्फा एक्लै बस्दै आएकी थिइन्। भूकम्पले घर भत्काएपछि त्रिपालमुनी बसिरहेकी उनको पनि स्वास्थ्यमा समस्या देखिएपछ नगर अस्पताल दल्ली पुर्याइएको थियो। उपचारका क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको वडाध्यक्ष पन्तले बताए।
