कर्णालि। शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।
सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले पुष्टि गरे ।
श्रेष्ठका अनुसार घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै सिंहको मृत्यु भएको हो।
उपमेयर सिंहका काका जय सिंहले पनि भुइँचालोमा परेर उनको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, नलगाड नगरपालिकाका सूचना प्रविधि अधिकृत जुना शाहीले पनि उपमेयर सिंहको मृत्यु भएको बताइन्।
नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।
पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ।