इटहरी । बिभिन्न धार्म मान्ने वक्ताहरुले समाजमा धार्मिक, सामाजिक सहिष्णुता कायम गर्न जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् ।
अन्तरधार्मिक शान्ति सञ्जाल महासंघ नेपाल प्रदेश समितिले सुनसरीको इटहरीमा आज (आइतबार) आयोजित धार्मिक तथा सामाजिक क्षेत्रमा शान्ति निर्माणका लागि अन्तरधार्मिक भेला कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
कार्यक्रममा बौद्ध धर्मका गुरु धर्म डुम्जनले हिन्दू, बौद्ध, इसाई, किरात, मुस्लिम जुनसुकै धर्म मान्ने मानिसहरु एक आपसमा मिलेर बस्नुपर्ने बताए । धर्मको अर्थ प्रेम, सत्कर्म भएको ब्याख्या गर्दै जग्गा पुगेमा एक अर्कामा समस्या नहुने गरी गुम्बा, मन्दीर, सस्जिद, माङखिम, चर्च एकै ठाउँमा बनाउन सकिने बताए ।
कसैले उकासेको भरमा एउटा धर्म मान्ने विरुद्ध अर्को पक्ष लाग्न नहुने डुम्जनको भनाइ थियो ।
कार्यक्रममा हिन्दुको तर्फबाट राजेन्द्र प्रसाद ढकाल, किरात धर्मको तर्फबाट फिपराज लिम्बू, जैनको तर्फबाट बिमल जैन, स्वर्गीक मार्गको तर्फबाट ओसन राई, इस्लामको तर्फबाट हुसेन अली, इसाईको राजकुमार राईले आ—आफ्नौ धार्मिक ग्रन्थहरुको ब्याख्या गर्दै साम्प्रदायिक सद्भाब भड्किन दिन नहुने बताएका थिए ।
सुनसरीको धरानमा हुन खोजेको र नेपालगञ्ज लगायतका स्थानमा भएको साम्प्रदायिक हिंसाले कोही नजित्ने सबैको हार हुनेभएकोले सबै पक्ष संयमित हुनुपर्ने कार्यक्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
देशको बिभिन्न स्थानमा धार्मिक तथा सामाजिक टकरावको सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने, सद्भाव कायम राख्न स्थानीय सरकार (पालिका) मेलमिलापको लागि सहजिकरणमा लाग्नुपर्ने, एक अर्काको विस्वास र सम्मानमा आँच आउने बिषय सामाजिक सञ्चालमा प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
आयोजक संस्थाको अध्यक्ष शम्भू अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति सञ्जाल केन्द्रीय अध्यक्ष रामभक्त कुरुम्बाङ, लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र लावती, मोरङ धनपाल पालिकाको उपप्रमुख नसिमा बानो, जहदा गाउँपालिका उपप्रमुख हन्ना सोरेन, केराबारी गाउँपालिका उपप्रमुख मनमाया मगर लगायतले विचार राखेका थिए । अन्तर धार्मिक सञ्जाल महासंघ का प्रदेश समिति सचिव चन्द्र तामाङले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न धर्मका धर्मगुरुहरुको बाक्लो सहभागिता रहेको थियो ।भेलाले धार्मिक सद्भाव कायम राख्नको लागि ६ बुदेँ प्रतिवद्धता समेत आज जाहेर गरेको छ ।

१) नेपालको संविधान, सम्बन्धित ऐन कानुनको पालना तथा कार्यान्वयन गर्न र उत्पन्न विवाद, विमती व्यवस्थापनमा सरकारले तत्काल पहल गर्नु पर्ने ।
२) पालिकामा धार्मिक तथा सास्कृतिक एवं अन्य कारणबाट उत्पन्न हुन सक्ने टकराव, द्वन्दलाई स्थानिय सरकारको हैषियतले निरुत्साहित गर्न मध्यस्थताको भुमिका निर्वाह गर्दै केन्द्रिय सरकारसंग समन्वय गर्ने, मेलमिलापका लागि सहजिकरण गर्न दायित्व लिनु पर्ने ।
३) धार्मिक, सास्कृतिक, जातीय संघसंस्था एवं समुदायहरुले एक अर्काको धर्म, आस्था, विश्वासलाई सम्मान गर्दै एकअर्का बिच आघात पुग्ने गतिविधीहरु नगर्ने नगराउने र गर्नेहरुलाई निरुत्साहित गर्न भुमिका निर्वाह गर्नु पर्ने ।
४) सामाजिक संजाल उपयोगकर्ताहरुले कसैको धर्म, संस्कृति, संस्कार, भाषा एवं जातजातीगत क्षेत्रमा आघात पुग्ने, विवाद सृजना गर्ने, द्वन्दको अवस्था उत्पन्न गर्ने जस्ता सामाग्रीहरु नलेखौं, नपढौं र हानिकारक प्रतिकार्य स्वरुप प्रतिकृया दिने भन्दा पनि सहिष्णुता अपनाउने र संयमता कायम राख्ने अवस्था सृजना गरि भद्रताको परिचय प्रस्तुत गरौं ।
५) हामी सबै मिलेर विमती, बादविवाद, द्वन्द सृजना हुने गतिविधीलाई निरुत्साहित गर्दै विविधतामा एकता स्थापित गर्न सकृय बनौं ।
६) सबै पालिकाहरुले आ–आफ्नो पालिका भित्र शान्ति निर्माणका क्षेत्रमा मध्यस्थताको भुमिका निर्वाह गर्न पालिका मेलमिलाप केन्द्र वा सामाजिक विकास शाखा अन्तरगत रहने गरि “अन्तरधार्मिक . शान्ति समिति संजाल“ गठन तथा परिचालन गर्न आवश्यक निति निर्देशिका निमार्ण र कार्यान्वयन गरौं वा गर्न अनुरोध गरौं।