विश्वकर्मा पूजाको शुभकामना (पुरानो पोस्टलाई फेरि पोस्ट्याएँ है) ———
– मैले सुरुमा थाहा पाएअनुसार विश्वकर्मा पूजा मिलपूजा थियो । मित्र भोगेन्द्र राईको सिनेमा हल बनेपछि हलपूजा पनि रहेछ, थाहा भो । काठमाडौंमा आएपछि यो पूजा मुख्य गरी बाइक–मोटरको रहेछ कि भन्ने ठानेको छु ।
– आज प्रज्ञा आधुनिक प्रेसका सञ्चालकले विश्वकर्मा पूजाको निम्तो गरेका छन्, विश्वकर्मा पूजा भनेको प्रेस पूजा पनि रहेछ भन्ने कुरा पनि थाहा भयो ।
– मेरो मिल, सिनेमा हल र बाइक– मोटर नभएकाले आजसम्म विश्वकर्मा पूजा गरेको छैन ।
– र मेरा विश्वकर्मा साथी छन्, छुवाछुत मान्दिनँ । सँगै खाना खाएको छु। तर बोक्रे क्रान्तिकारी र खोक्रो आदर्श छाँट्दिनँ, मैले मेरा विश्वकर्मा साथीलाई मेरा बुबाआमा बस्ने घरभित्र हुलेको छैन । जतिसुकै क्रान्तिकारी हुँ भने पनि, भाषण र लेखाइमा जतिसुकै आदर्श ओकले पनि आफ्नै गाउँ टोलको दलित बस्तीमा छिरेर उनीहरूले पकाएको खानेकुरा खाएको छैन ।
– तर आफ्ना हजुरबुबा– हजुरआमा, बुबाआमाका समकालीन विश्वकर्माहरूलाई “तिमी– तँ“ को सम्बोधन चाहिँ गरिएन – तपाईं नै भनियो– साइनो लगाएरै बोलिन्छ । पाइपबाट पानी आउनुअघि हामी ४ घर सुवेदी, १ घर राई र २ घर दमाईको साझा धारो थियो । नछुवाउने भन्दाभन्दै पनि कहिलेकाहीँ उनीहरू र हामीहरूले गाग्रो बोकेको डोकोडोकोका बिचमा स्पर्श भइहाल्थ्यो ।
– रमाइलो कुरा दिक्तेल बजारमा हुने केही भोजहरूमा अलिक पढेलेखेका, धनीमानी विश्वकर्माहरू नेता, कर्मचारी र अरूहरूको हारमा र गरिब, खासगरी फलामको काम गर्ने र नागरिकतामा कामी थर लेख्नेहरू अर्कै हारमा भोज खाएको देखेको छु ।
– र अन्तिम जिज्ञासा – विश्वकर्मा पूजा मेसिनको पूजा हो कि मेसिन बनाउनेको ? विश्वकर्मा बाबा त मेसिन नभएर मेसिन बनाउने देवता जस्तो लाग्छ । र, उहिले विश्वकर्मा मेसिन बनाउने देवता थिए भने अहिले मेसिन बनाउनेहरू र मेसिन चलाउनेहरू त हामीले कामी, दमाई, सार्की र मजदुर भनी हेला गरिएका अझ छुवाछुतको विभेदबाट पिल्स्याइएकाहरू पर्छन् किन ?
मेसिन बनाउनेहरुलाई हेलोहोचो गरेर, भातपानीबाट अलग गरेर मेसिन बनाउने देवताका नाममा मेसिनको पूजा गर्नु त्यो पनि आधुनिक युगमा पटक्कै हजम नहुने क्या ——-
