सरकारले पत्रकार बन्न जाँच लिने व्यवस्था गर्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने जानकारी दिएका छन् ।
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बताएका हुन् ।
सरकारको यो कदमलाई मन्त्री गुरुङले ऐतिहासिक दाबी गर्दै ‘गेमचेन्जर’ हुने टिप्पणीसमेत गरे । पत्रकारिता पेसालाई दक्ष बनाउने सरकारले यस्तो बन्दोबस्त गर्न लागेको गुरुङले दाबी गरेका छन् ।
राज्यका विभिन्न निकायमा काम गर्न लोकसेवालगायतका परीक्षा पास गर्नुपर्ने तर राज्यको चौथो अंगमा प्रवेश गर्न भने कुनै तालिम र प्रशिक्षण नभएकोले पत्रकारिताको गुणस्तर खस्किएको गुरुङले तर्क गरे ।
‘एउटा सूचना तल-माथि पर्यो भने देशले कहिलेकाहिँ शिर झुकाउनु पर्ने अप्रिय घटना घट्ने भयो,’ मन्त्री गुरुङले भने, ‘अनि देशको चौंथो अंगले पनि त्यो खालको लोकसेवाजस्तै कोर्स पूरा गरेको हुनुपर्छ ।’
