काठमाडौँ । देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द हुने भएको छ ।
अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको हो ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने जनाएको छ ।
हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।
