डिकेन्द्र बस्ननेत,झापा। दमक नगरपालीकाको आयोजनामा आज भएको बृहत स्वास्थ्य शिबिरमा ४ सय ८ जना बिरामीको स्वस्थ्य परिक्षण गरिएको छ । न्युरो अस्पताल बिराटनगर, एड्भान्स अस्पताल दमक र दमक अस्पतालको प्राबिधिक सहयोगमा दमक ९ स्थित सरस्वती माध्यमिक बिद्यालयमा सम्पन्न निशुल्क स्वास्थ्य शिबिरको एक कार्यक्रमका विच बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. भगवान कोईरालाले उद्घाटन गर्नु भएको थियो ।
दमक नगरपालीकाका प्रमुख राम थापाको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर उद्घाटन कार्यक्रममा न्युरो अस्पताल बिराटनगरका अध्यक्ष न्युरोलोजिष्ट डा.बिरेन्द्र बिष्टले शसभकामना मन्तव्य राख्नु भएको थियो ।
नगरबासीको नजिकै पुगेर बिषेशज्ञ स्तरको सेवा प्रदान गर्न स्वास्थ्य शिबिरको आयोजना गरिएको दमक नगर उप प्रमुख रेगिना भट्टराईले जानकारी दिनुभयो । यस अघि ९० बर्ष माथिका र अपाङ्गता भएका नागरिकहरुलाई घर घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न सुरु गरिसकिएको बताउनु भयो ।
आजको स्वास्थ्य शिबिरमा बरिष्ठ मुटुरोग बिषेशज्ञ डा. भगवान कोईराला, पुर्वकै पहिलो युरो सर्जन डा. याम बहादुर रोक्का लगायत बिभिन्न रोगका बिषेशज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
स्वास्थ्य शिबिरमा ४ र ९ बर्षका दुई बच्चाको मुटुमा प्वाल देखिएकोले उनिहरुको थप उपचारका लागी तत्काल किओच बाल अस्पताल दमकमा राखिएको र पछि गंगालाल अस्पताल काठमाण्डौमा लगेर उपचार गरिने दमक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण शाहले जानकारी दिनुभयो । त्यस्तै दुई जना महिलाको आङ खसेको पाईएकोले थप उपचारका लागी दमक अस्पताल रेफर गरिएको उहाँले बताउनु भयो ।
