काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा लगातार तीन दिन विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । आज एक सूचना जारि गर्दै प्राधिकरणले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् प्रसारण अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणले ६६ केभीको स्युचाटार–टेकु प्रसारण लाइन शुक्रबार बिहानदेखि आगामी सोमबार बिहानसम्म सट डाउन गर्ने जनाएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर चार्जसहितका कामका लागि उक्त प्रसारण लाइन बन्द गर्न लागिएको हो ।
कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत ६६ के।भी। पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्नेछ ।
त्यस्तै ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।
६६ केभी स्युचाटार के३ सटडाउन गरिँदा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड, भैंसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरू (थापाथली, सुन्धारा र के२ ) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने प्राधिकरणले जानकारी दिएको छ।

