काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर आज मन्त्रीपरिषद बिस्तार गर्न लागिएको जानकारी प्राप्त भएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज साँझ ५ बजेसम्म मन्त्रीपरिषदको बिस्तार गरी शपथ ग्रहणको तयारी भइरहेको बताउनुभयो ।
यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आउनुभएका नेताहरुले सम्हाल्नुभएका खालि रहेका मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारी रहेको हुन सक्ने अनुमान गरिएको छ ।
खाली रहेको मन्त्रालयहरुमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् ।
प्रधानमन्त्री ओलीले हिजो राती वाल्वाटारमा जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गर्नुभएको थियो । सोही छलफलका आधारमा जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री परिषद्को तयारी भएपनि जसपाको निर्णय आइ नसकेकोले अहिलेसम्म अन्तिम टुङ्गो नलागेको बताउनु भएको छ ।
