काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । २०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए । उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
- September 29, 2026
