काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुने भएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए ।
सोमवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग ‘द्रुत बस सेवा’का विषयमा छलफल गरेका थिए । ‘छलफलपछि ३ असोजमा ‘द्रुत बस सेवा’ सञ्चालन गर्ने निर्णय गरियो’ मन्त्री ज्वालाले भने ।
‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । ‘द्रुत बस सेवा’ सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन् । ‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकी छ, त्यो भोली २६ भदौदेखि सुरु गर्छौ ।’
विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडीबुटी, र जडीबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाएर एकै दिन सुरु हुने भएको छ ।
त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । ‘द्रुत बस सेवा’का लागि आवश्यक पर्ने २५ वटा बसहरू तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए।
ब्यवसायीहरुसँग सहकार्य गरी उनीहरूकै बसहरू सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् ।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का विषयमा केही आशंकाहरु उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने । अहिले बिहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।
