काठमाण्डौ । बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको मनसुन प्रणाली एक हप्तामा नेपाल आउने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद् मानन्धरले बताउनुभयो । यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकोले केही ठाउँमा बादल लागेर सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपख केही ठाउँमा सामान्य पानी पर्ने भए पनि अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद्को भनाई रहेको छ ।
