काठमाडौं । समाजसेवी,लेखक एवम् सामाजिक रुपान्तरणकी अभियन्ता कमला हेमचुरीद्धरा लिखित ‘ब्राम्हणवादविरुद्ध बुद्ध र अम्बेडकर’पुस्तक संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ । पुस्तक विमोचन तथा समीक्षा कार्यक्रमका प्रमुख अतिथि,विश्वशान्ति विहार काठमाडौंका प्रमुख निग्रोध भन्तेलगायत समीक्षक अतिथिहरुबाट संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लेखक हेमचुरीले पुस्तक लेखनको सार बताउँदै भनिन्–‘२०७२ सालमा संविधान जारी हुनु अगाडि बुद्धनगर, काठमाडौंमा प्रहरीसँगको झडपमा प्रहरीले खुट्टा भाँचिदिएपछि पुरा एकवर्ष ओछ्यानमा थला परेँ, त्यही बेला मैले बुद्ध र अम्बेडकरको बारेमा पढेँ । त्यसले मलाई साह्रै प्रभावित बनायो र मेरो बौद्धदर्शनमै स्नात्तकोत्तरको शोध–पत्रलाई विकसित र परिमार्जन गरेर पुस्तकको स्वरुप दिएकी हुँ, यो पुस्तकले महामानव बुद्धको दर्शन र समाजवादी चिन्तक डा.भीमराव अम्बेडकरको समाजरुपान्तरणको योगदानलाई बुझ्नको लागि आँखीझ्यालको काम गर्ने विश्वास लिएकी छु ।’
समाजशास्त्री एवम् समीक्षक डा.मित्र परियारले एशिया र विशेषगरी नेपालको हिन्दू वर्णव्यवस्थाको बारेमा बुझ्न पुस्तक अत्यन्तै उपयोगी हुने बताए । त्यतिमात्रै होइन, हिन्दू ब्राम्हणवादी चंगूलबाट मुक्तिका लागि समेत पुस्तक फलदायी हुने कुरा व्यक्त गरे ।
अर्का सीमक्षक पूर्व सचिव डा.मानबहादुर विश्वकर्माले पुस्तकको शीर्षक नै काफी रहेको बताए । उनले थपे–अहिले म आफैले समेत बुद्धकालीन प्राचीन गणराज्य, आर्थिक–सामाजिक प्रणाली र समाजविकास बारेको पुस्तक सम्पादनका क्रममा बुद्धको बारेमा धेरै जानकारी प्राप्त गरेको छु । पछिल्लो राष्ट्रिय जनगणना २०७८ मा गणकले नसोधीकन हिन्दूधर्ममा चिन्ह लगाइदिइएका थिए । तर मैले गणकलाई पुनः सच्चाउन लगाएर बौद्धधर्ममा चिन्ह लगाउन लगाएँ, उनले राज्यको यस्तो मानसिकताको अनुभव सुनाए ।
यसरी सही तथ्यांक आउँछ भनेर विश्वास गर्ने ? पुस्तकले सबैको ध्यान खिचेको छ । सबैले एकपटक पढ्नैपर्ने मेरो सुझाव छ । बौद्धधर्म र विहारसँग हामी कसरी टाढा भयौं ? वा हामी आफैले पनि खोजेनौं ? गम्भीर समीक्षा गरिनुपर्ने उनले बताए ।
अर्का समीक्षक तथा पूर्व राष्ट्रिय महिला आयोगकी सदस्य धनकुमारी सुनारले वर्तमान माक्र्सवादी वर्गीय रटान र रुझानलेग्रस्त राजनीतिमा पुस्तक ठूलो तलाउमा एक ढुंगा प्याँकेजस्तै तरंग पैदा गर्ने विचार व्यक्त गरिन् । उनले थपिन–लेखक आफैंमा जुझारु र समाज रुपान्तरणकी अग्रज भएकीले यस अभियानमा अझै ठूलो मद्धत गर्नसक्छ ।
थेरावाद एकेडेमी शान्तिनगर काठमाडौंका प्रमुख एवम् समीक्षक डा. महेन्द्ररत्न शाक्यले बुद्धधर्म, अम्बेडकर विचार र उहाँहरुले ब्राम्हणवादको उत्पीडनमाथि गर्नुभएको संघर्षगाथा पुस्तकमा चर्चा गरिएको छ । उनले भने–ब्राम्हणवाद कुनै समुदाय नभएर एउटा विचार र दर्शन हो । यो अक्सर सबै जाति, समुदायमा केही न केही मात्रामा रहेको हुन्छ । दुई वर्षे थेरावाद स्नात्तकोत्तर बौद्धदर्शन अध्ययनका लागि कुनै एक विषयमा स्नातकतह उतीर्ण गर्नेहहरुलाई सँधै ढोका खुला छ । अध्ययन गर्न चाहनेहरुका लागि कुनै उमेरको सीमा राखिएको छैन ।
त्यसैगरी अर्का समीक्षक, पूर्वमन्त्री थेरावाद बौद्ध विद्धान डा.केशवमान शाक्यले पुस्तक अत्यन्तै सन्तुलित, समसामयिक, पठनीय, तर्कपूर्ण र सिललिेवार रहेको बताए । यो पुस्तक थेरावाद बौद्धदर्शनमा आधारित छ । यसलाई अर्ली बुद्धिज्जम पनि भनिन्छ । बुद्धले प्रदान गर्नुभएको सबै शिक्षा पाली भाषामा छन् । माक्र्सवादले (Matter) पदार्थ वा भौतिकवादको मात्रै कुरा गर्छ । तर बुद्धले चेतना र पदार्थ (Mind and Matter) दुवैको कुरा गरेका छन् । पदार्थ वा भौतिकवादले वस्तुको मात्रै कुरा गर्दछ तर नैतिकता, शील, ज्ञान र प्रज्ञाको कुरा गर्दैनन् । तर बुद्धले पदार्थसँगै नैतिकता, शील, ज्ञान र प्रज्ञाको कुरा गर्ने भएकोले माक्र्सवादभन्दा बुद्धवाद पूर्ण र वैज्ञानिक छ । त्यसैले माक्र्सवादी भजाउने तर जति भ्रष्टाचार र अपराधमा डुबे पनि केही नहुने भएको कारण यही हो । भारतमा अम्बेडकरले गर्दा समाजमा ठूलो मनोवैज्ञानिकरुपमा परिवर्तन भएको छ । त्यो परिवर्तन बुद्धधर्म र दर्शनले गर्दा नै संभव भएको हो–शाक्यले जोड दिए ।
लेखक तथा अध्ययेता डीबी नेपाली ‘दमु’ ले जनजाति–आदिवासी भनिने समूह राज्यले हिन्दुकरण गर्यो भन्दै प्रकृतिपूजा, मूर्तिपूजा र बलीप्रथामा रमाईरहने र कथित दलित भनिने समूहलाई हिन्दूधर्मले स्वीकार नै नगरेको र चरम हिंसा, उत्पीडन जारी रहँदासम्म बाहिर ननिस्कने कारणले गर्दा नै बौद्धधर्म दर्शनको विस्तार रोकिएको हो ।
यी दुई समूहले जतिसक्दो छिटो आफनो पुरानो पुख्र्यौली बौद्धधर्मलाई अंगाल्न सक्छन्, त्यति नै छिटो बौद्धधर्म विस्तारले गति लिनसक्छ । यसो भएमा करिब डेडदशकभित्रै नेपाल बौद्धराष्ट्रमा उक्लन सक्ने दमुले बताए । उनले थपे–बुद्ध नेपालमा जन्मेको भनेर मन्त्र जस्तो जपरिहने तर उहाँको वैज्ञानिक शिक्षालाई शैक्षिक पाठ्यक्रमहरुमा समावेश नगरिनु अर्को समस्या देखिएको छ । बुद्ध धर्म, शिक्षालाई अरु धर्मजस्तै सामान्यीकरण गरिनु र अम्बेडकरको सामाजिक रुपान्तरणको योगदानलाई धर्म परिवर्तनमा लगेर अवमूल्यन गरिनुले ठूलो अपमान भएको छ ।
विश्वमा प्रचलित अरु धर्मदर्शन अदृष्यशक्ति, देवीदेवतामा केन्द्रित छन् भने बुद्ध धर्मदर्शन मानव केन्द्रित छ । पाइला–पाइलामा अपमानको सामना गरेर सामाजिक रुपान्तरणमा होमिएका अम्बेडकरलाई शहरमा थर फेरेर एनजिओको दानापानीमा क्रान्तिकारी बनेका ढोंगीहरुले अम्बेडकरमाथि सतही टिप्पणी गर्न सुहाउँदैन । दमुले थपे–महामानव बुद्ध र अम्बेडकरको योगदानलाई सारमा बुझनको लागि यो पुस्तक अनिवार्य पढ्नैपर्छ ।
पुस्तकभित्र सातवटा विभिन्न शीर्षक–उपशीर्षक र उपसंहारमा अम्बेडकर र बुद्धधर्मको बारेमा सारसंक्षेपीकरण तर पूर्णतामा विवेचना र विश्लेषण गरिएको छ । जसमा–हिन्दू धर्म र वर्णव्यवस्था, कथित अछुतहरु र अछुतपनाको सैद्धान्तिक अवधारणा, नेपालमा जातप्रथाको बीजारोपन, विकास र कथित अछुतहरुको वर्तमान अवस्था, बुद्धको संक्षिप्त जीवनी र प्रमुख उपदेशहरु, शूद्रहरुको उत्थानमा बुद्धको योगदान, भारतमा कथित अछुतहरुको उत्थानमा अम्बेडकरको भूमिका र नेपाली कथित अछुतहरुमा बुद्ध धर्मको प्रभाव शीर्षकमा क्रमबद्ध पुस्तकलाई व्यवस्थित गरिएको छ ।
पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष निग्रोध भन्तेले–सबै विद्यार्थीले शोध–पत्र सम्पन्न गर्छन् । तर पुस्तककै रुपमा विकास गर्ने थोरै हुन्छन् । तिनै थोरै मध्येकी लेखक हेमचुरी एक हुन् । लेखकले पुस्तकको स्वरुप दिन धेरै मेहनत गरेकोमा बधाई तथा शुभकामनासमेत भन्तेले दिए । सोपान प्रेस प्रा.लि. डिल्लीबजार, काठमाडौंमा छापिएको पुस्तक सोसाइटी बुक्स नेपाल, गोदावरी ललितपुरले प्रकाशन गरेर बजारमा ल्याएको हो । कृष्ण गजमेरले आकर्षक आवरण साजसज्जा र डिजाइन गरेको दुईसय पृष्ठको पुस्तकको मूल्य रु ३०० रहेको छ । सारमा पुस्तक सबै उमेर समूहका पाठकहरुका लागि अत्यन्तै पठनीय, ज्ञानवद्र्धक र उपयोगी छ । यो पुस्तक विद्यालय तहदेखि उच्चशिक्षासम्मका पाठ्यक्रमहरुमा ‘रिफरेन्स’ को रुपमा समावेश गर्न योग्य रहेको विद्धान समीक्षकहरुको मत रहेको छ ।
