काठमाडौं । बझाङमा बाहुकाे घर छेउमा दलितले घर बनाएकाे भन्दै घर भत्काईदिएकाे घटनाका विरुद्ध धरानमा जनता समाजवादी पार्टी,शिल्पी विशेष समिति प्रदेश १ ले खबरदारी कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा शिल्पी विशेष समिति प्रदेश १ ले विज्ञप्त मार्फत पीडितलाई न्याय दिलाउन र पीडकलाई हदैसम्मकाे कारबाहीकाे माग गरिएकाे छ । साे अवसरमा विभिन्न राजनीतिक दलका दलित भातृसंगठन तथा दलित अधिकारकर्मीहरुले खवरदारी गर्दै बझाङ जिल्लाका दलित माथि गरेको अन्यायलाई राज्यले न्याय नदिएको खण्डमा देश व्यापी रुपमा आन्दोलन गर्ने चेतावानी दिएका छन् ।
कोण सभा कार्यक्रममा प्रमुख वक्ताको रुपमा वोल्दै दलित अधिकारकर्मी तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश समितिका सह–ईन्चार्ज दल मर्दन कामीले भन्नु भयो,‘संविधान र कानुन व्यवहारत: अझै पनि कार्वान्वयन हुन सकेको छैन,दलितहरुलाई राज्यले नै उपेक्षा गरेको छ , पटक पटक दलितहरुलाई विभेद र जातका आधारमा गरिने अमानवीय व्यवहारमा राज्य समेत उदासिन भएको छ,संविधान र कानुन कार्यान्वयन नगरेको खण्डमा फलाम कुट्ने दलितहरु अव हातमा औजार लिएर उठ्ने चेतावनी दिनुभयाे ।
मठ मन्दिर बनाउँने दलित बनाईएका शिल्पी समूदायलाईनै याे हिन्दु वर्णाश्रमवादी ब्यवस्थाका आधारमा याे राज्य सत्ता र कथित उच्च जात भनाउनेहरुले हाम्रा भाईछाेरा,छाेरीहरुलाई मन्दिरमा पस्दा हत्या गर्ने,अन्तरजातीय विबाह गर्दा मारिनु पर्ने,घर जलाउने लगायतका कार्यहरु यसरीनै निरन्तर रहिरहे हाम्रा आरनहरु विद्राेहशाला पनि बन्ने छ र फलाम कुट्ने घनले तिम्रा मन्दिरहरु भत्काउन र टाउकाेमा हान्न बाध्य हुनेछाैँ ।
त्यस्तै धरान ६ का लाखबहादुर सार्कीकाे न्यायका लागि धरानका मेयर र उपमेयरकाे ध्यानाकर्षण समेत गराउँदै तत्काल पहल नगरिए त्यसका विरुद्ध संघर्ष गरिने पनि बताउनु भयाे ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले समेत प्रतिवद्धता जनाएका थिए भने दलितहरु माथि भएको विभेद र घट्नाका विषयमा न्याय दिलाउनको लागि प्रतिवद्धता समेत जनाएका छन् । जनता समाजवादी पार्टी नेपालका धरान उपमहानर अध्यक्ष ताजुव लिम्बुले बझाङ्ग घटनाका दोषीलाई कार्वाही गर्नको लागि माग गर्नु भएको छ । उहाँले भन्नु भयो,‘घर भत्काउनेलाई राज्यले हदैसम्मको कडा कारबाही गर्नुपर्दछ र घर पुनः निर्माण गरि न्याय दिलाउनु पर्छ।’
त्यसै गरि दलित अधिकारकर्मी भविन्द्र विश्वकर्माले नेपालको संविधान र कानुनलाई राज्यले कार्यान्वयन गर्न नसक्दा दलितहरुमाथि सदियौंदेखि जातीय विभेद र छुवाछुत अनि अन्यायको घट्ना भएको भन्दै राज्यप्रति आक्रोस पोख्नु भएको छ । उहाले पश्चिममा दलितहरु माथि हत्या हिंसा र विभेद घट्नाले ठुलो रुप लिन थालेको भन्दै अव दलितहरु चुप लागेर नवस्ने उद्घोष गर्न भएको छ ।
दलित अधिकारकर्मी विजय आछामीले वझाङमा दलित माथि भएको घट्नाको दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्नु भएको छ । पीडितउपर राज्यले क्षतिपुर्ति समेत दिएर न्याय दिलाउन पनि माग गर्नु भयो ।
बझाङमा भएको घट्ना के हो ?
विज्ञप्तीमा बझाङ्ग जिलाको वित्थडचिर गा.पा.वडा नं ७ बस्ने दलित थरका पुड्के ओखेडाले बिगत २५ बर्षदेखि भोगच लन गर्दै आएको आफ्नै जग्गामा घर वनाउँदा त्यहाँका उपल्लो जातिका मानिसहरूले दलित भएकै कारण तथानाम गाली गलौज गरि बालीनाली समेत नष्ट गरि तलाई हामी भन्दा माथी बस्ने अधिकार छैन भन्दै गाउँ नै मिलेर घर पूर्ण रुपमा नष्ट गरिदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र ६० लाख शिल्पी दलित समुदायमाथी भएको अन्याय अत्यचारको घोर निन्दा गरिएकाे प्रेस बिज्ञप्तिमा उल्लेख छ।
दलित समुदायका ओखेडा परिवार लगायत देशैभरी भैरहेका जातीय छुवाछूत तथा विभेद,झुठा मुद्दामा फसाउने,हत्या हिंसा शृङ्खलाबद्ध रुपमा घटाईनु खेदजनक रहेको सचिव शशीकुमार विश्वकर्मा र अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
