खोटाङ । जिल्लाको साकेला गाउँपालिका–३,तावाभञ्ज्याङमा रहेको चिण्डो पोखरी जनश्रमदानद्धारा सरसफाई गरिएको छ ।
वर्षातका कारण पोखरी पुरिएपछि वडा कार्यालय खिदिमाको पहलमा स्थानीय बासिन्दा भेला गराएर पोखरीमा भरिएको ढुङ्गा, गिट्टी तथा बालुवा निकालिएको जानकारी प्राप्त भएको छ ।
किराती मिथक र मुन्धुममा आधारित रहेर निर्माण गरिएको उक्त चिण्डो पोखरी पुरिएर अस्तित्व नै हराउन लागेपछि जनश्रमदानद्धारा सफाई गरिएको वडा अध्यक्ष गोविन्द तामाङको भनाई ररहेको छ ।
जनश्रमदान गर्न गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राई सहित खिदिमाका १०० भन्दा बढी स्थानीयबासीको साथमा जनप्रतिनिधि, राजनीतिककर्मी, कर्मचारीहरु तावाभञ्ज्याङमा उपस्थिती रहेको जानकारी प्राप्त भएको छ ।
खिदिमामा हुने विकासे योजनाको मर्मत गर्नका लागि श्रमदान अभियानलाई निरन्तरता दिन वडा कार्यपालिकाबाटै निर्णय गरिएको वडा कार्यालयले चलाएको श्रमदान अभियान उदाहरणीय कार्य भएको बताउँनुहुँदै गाउँपालिका प्रमुख राईले अन्य वडाले पनि विकासका कार्यहरुमा श्रमदान अभियान सञ्चालन गर्न जरुरी रहेको बताउनुभएको छ ।
