धनुषा । धनुषामा तीन वर्षको अवधिमा ५३० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार ०७७/७८ देखि ०७९/८० सम्ममा झुण्डिएर, विष सेवन गरेर तथा आगो लगाएर ५३० जनाले आत्महत्या गरेका हुन्।
गत आर्थिक वर्षमा मात्र २१३ जनाले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । ती मध्य १८३ जना झुण्डिएर, २९ जना विष सेवन गरेर र एकजनाले आगो लगाएर आत्महत्या गरेका उनको भनाइ छ ।
तीन वर्षको अवधिमा भने ४३९ जनाले झुण्डिएर, ८७ जनाले विष सेवन गरेर र ४ जनाले आगो लगाएर आत्महत्या गरेको धनुषा प्रहरीको तथ्यांक छ।
प्रहरी नायब उपरीक्षक गौतमका अनुसार ०७९/८० मा २१३ जनाले आत्महत्या गर्दा ०७८/७९ मा १४५ र ०७७/७८ मा १७२ जनाले आत्महत्या गरेका छन् ।
धनुषा प्रहरीको तथ्यांक अनुसार जेठ र असारमा मात्र तीन वर्षको अवधिमा १५७ जनाले आत्महत्या गरेका छन् । तीन वर्षको अवधिमा असारमा ९७ जनाले आत्महत्या गरेका छन् भने जेठमा ६० जनाले आत्महत्या गरेका छन् ।