खोटाङ । जिल्लाको खोटेहाङ स्थीत ईलाका प्रशासन कार्यालयमा शाखा अधिकृत वा कायममुकायम शाखा अधिकृतको नयाँ व्यवस्था नगर्दा १५ दिनदेखि सेवा प्रवाह ठप्प भएको छ ।
ईलाका प्रशासनको कामकाजका लागि गृह–मन्त्रालयबाट ६/६ महिनाका लागि दिइने कायममुकायमको म्याद गत असार–२६ गते सकिए पछी हाल सम्म उक्त ब्यबस्था नगर्दा सेवा प्रबाहमा समस्या आएको जानकारी प्राप्त भएको छ ।
यसअघि गृह मन्त्रालयले सिनियर (अग्रज) नायब सुब्बा मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असार–२६ गते सकिएपछि मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा रोकिएको खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ को भनाई रहेको छ ।
जिल्लाको पुरानो सदरमुकाम समेत रहेको खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारमा सञ्चालित ईलाका प्रशासन कार्यालयको सेवा बन्द भएपछि खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् । अधिकृत कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाति प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ ।
जिल्लाको खोटाङ बजारसँगै ऐसेलुखर्क बजारमा समेत ईलाका प्रशासन कार्यालयको स्थापना भएपनि ऐसेलुखर्क ईलाका प्रशासन कार्यालयमा समेत कार्यालय प्रमुख नियमित रुपमा नबस्दा समस्या हुने गरेको सेवाग्राहीहरुको भनाई रहेको छ ।
