जगत ठाडा मगर
नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा छोराले आफ्नै आमाको हत्या गरेकाे छ । सुनवल नगरपालिका–१३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले ५० वर्षीया आफ्नै आमा बुद्धिरानी मुसहरको हत्या गरेको हो ।
उनले सोमबार साझ टाउकोमा धारिलो हतियार प्रहार गरी आफ्नो आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम डीएसपी भोजराज पाण्डेयले बताए ।
उनी हत्या गरेर शवलाई घरभित्र छाडेर फरार भएका थिए । उनको बुवा साँझ कामबाट घर फर्केदा घरभित्र श्रीमतीको शव देखेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि अभियुक्त शिवकुमारले २ पटकसम्म आमालाई बेहोस हुने गरी कुटपिट गरेर छाड्ने गरेको प्रहरीले जनाएको छ ।
उनले दैनिक श्रीमतीलाईसमेत कुटपिट गर्ने गरेको स्थानीयबाट जानकारी पाएको प्रहरीले जनाए । उनको कुटपिट सहन नसकी श्रीमती पनि दुई महिना अघिबाट माइतमा बस्दै आएको पाण्डेले बताए।
आमाको हत्यापछि फरार रहेका अभियुक्त शिवलाई प्रहरीले रुपन्देहीको गैंडाहवा–८ मैनिहवामा लुकेर बसेको अवस्थामा मंगलबार बिहान पक्राउ गरेको हो । उनले आमाको हत्या के कति कारणले गरे भन्नेबारे अनुसन्धान भइरहेको पाण्डेयले जनाएको छ ।