काठमाडौं ।सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको जीप अन्दाजी ३० फिट गहिराइबाट निकालिएको छ।
मंगलबार सवा ६ बजे नदीबाट गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी निकालेको हो।
भक्तपुरबाट गत शुक्रवार खोटाङतर्फ जाँदै गरेको सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ ।
पाँच दिन पछि आज जीप र त्यसमा रहेका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ भने शवको पहिचान भने हुन सकेको छैन ।
भक्तपुरबाट गत शुक्रवार खोटाङतर्फ जाँदै गरेको जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खस्दा प्रशासन शाखाका निर्देशक तनहुँका कृष्ण केसी, पूर्वी नवलपरासी घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक भानु पौडेल बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रवारदेखि निरन्तर खोजी गरे पनि केही पत्ता लागेको थिएन । आज सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले जीप भेट्टाएको हो ।
पानीको बहाव तीव्र भएका कारण सुनकोसीको पानीको बहावलाई रामेछापतर्फ फर्काएपछि खोजीमा केही सहज भएको थियो ।
उनीहरूमध्ये एक जना अझै बेपत्ता छन्। गाडीका चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते थिए।
