सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।
जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल भएका थिए भने बाँकी तीन जना अझै बेपत्ता छन् ।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका-७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन् ।
