कोरोना भाइरसको महामारी रोक्न मुलुकमा निषेधाज्ञा छ। नागरिकले संक्रमणबाट बच्नकै लागि घरभित्र थुनिएर बस्नु परेको छ। यो आवश्यकता र बाध्यता दुवै हो। खुल्ला आकाशमुनि घुम्न, रमाउन र आफूले चाहेको/गरिरहेको काममा फर्कन सबैको इच्छा छ।
तर, दोस्रोपटक फैलिएको कोरोनाको नयाँ भेरियन्टले संक्रमण मात्रै नभई मृत्यु दरलाई पनि बढाउँदा घरभित्र बसेर समय बिताउनु र संक्रमणबाट जोगिनुको विकल्प छैन। कार्यालय पुगेर काम गर्नेहरूको बाहेक घरमै बस्नेहरूको बिहानदेखि बेलुकासम्मको दैनिकी लामो निषेधाज्ञाले अब प्रायः एउटै बनिसकेको छ। खाना-खाजा खाने र सुत्नेबाहेकको खाली समयमा सबैभन्दा बढी प्रयोग सामाजिक सञ्जालको भइरहेको छ। यो समयमा पनि विद्युत् र इन्टरनेट नभए दिन काट्न अब नागरिकलाई ‘महाभारत’ छ।
सामाजिक सञ्जालले समय बिताउन सहज बनाएको छ। आफ्नो मनमा लागेका कुरालाई राख्ने, अरूले लेखेका र राखेका कुरामा प्रतिक्रिया दिने मात्रै नभई कला र गलालाई प्रस्तुत गर्दै छिनभरमै विश्वमा पु¥याउने अवसर पनि यसले दिलाएको छ। फेसबुक, टिकटक, ट्विटर, म्यासेन्जर, भारइबरलगायत सामाजिक सञ्जालको सदुपयोगले धेरैको भाग्यसमेत खोलेको छ। गाउँका कुनामा रहेका प्रतिभाले स्थान पाएका छन्। राम्रा विचार लेखेर बाँड्दा अरूलाई प्रेरणा पनि मिलेको छ। आफूले चाहेका कुरा खोज्न र व्यक्तिसँग समयमा सम्वाद गर्न सहज बनाएको छ। सामाजिक सञ्जालमै आएका कुनै विचारले देशको नीति नियमसमेत परिवर्तन गर्न र बिग्रन लागेका कुराहरूलाई समेत सही बाटोमा हिँडाएको उदाहरण हामीसँग धेरै छन्। यी सबै सकारात्मक कुरा हुन्। यिनै कामका लागि नै सामाजिक सञ्जालको विकास र विस्तार पनि भएको हो।
हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन्। सकारात्मकलाई लिन सके कुनै कुरा नराम्रा छैनन्। सामाजिक सञ्जालमा पनि यो नियम लागू हुन्छ। यसभित्र पस्ने सहज पहुँचका कारण जो कोहीले यसको प्रयोग क्षणभरमै गर्न सक्छ। सकारात्मकभन्दा नकारात्मक कुरा चाँडो फैलने (भाइरल) हुने भएकाले प्रयोगकर्ताको असावधानी र ज्ञान अभावले यसको नकारात्मक असर पनि उच्च बन्दै गएको छ। अझै निषेधाज्ञाको समयमा बढी समय सामाजिक सञ्जालमा बिताउने भएकाले अहिले प्रयोगकर्तालाई सही र गलत के हो ? छुट्याउनसमेत हम्मे–हम्मे परेको देखिन्छ। अनियन्त्रित रूपमा खुलेका अनलाइन, अव्यवस्थित र नियम उल्लंघन गर्दै लेखिने समाचार, कार्टुन र विचारले भ्रम फैलाउँदै छ। यस्ता कुरा नियमनको आवाज पनि चर्कदो छ। कोही सजायको भागीदार पनि बनिरहेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा आउने कुराले मानिसलाई आतंकित मात्रै होइन मानसिक तनावसमेत दिन थालेको छ। कोरोना महामारीमा ज्यान जोगाउने चिन्ताले पिरोलिरहेको समयमा सामाजिक सञ्जालमा आउने शवका तस्विर, अफवाह सामग्री, मन दुखाउने र आत्माबल घट्ने पोस्टले पीडा थप्दै छ। झनै महामारीले आफन्त गुमाएकाहरूलाई त सामाजिक सञ्जालमा आएका मृतकका तस्विर र लेखेका शब्दले मनोबल गिर्ने र हतोत्साही बनाउने गरेको अनुभव धेरैसँग छ। कतिपयले सामाजिक सञ्जाल बन्द गरिसकेका छन्। बिस्तारै पीडाबाट बाहिर निस्कन खोजिरहँदा पोस्ट भएका तस्विर र कुराले पुनः झस्काउने र गहिरो पीडासमेत दिन थालेपछि सामाजिक सञ्जाल समस्या पनि हुन थालेको छ। यस्तै क्रम बढ्दै गए मानिसमा मानसिक रोगसमेत थपिने मानसिक रोग विज्ञहरू बताउँछन्।
कोरोना महामारीले मृतकको संख्या थपिँदै जाँदा हाम्रा चिनजानकै साथीभाइदेखि आफन्तसम्म त्यो तथ्यांकमा परेका छन्। बिहान उठ्नासाथ खोलिने सामाजिक सञ्जालमा शुभकामनाभन्दा धेरै समवेदना र श्रद्धाञ्जलिका शब्द बढ्दै छन्। यो देख्दा जो कोहीको दिन शान्त रूपमा अवश्य कट्दैन। न त्यस्ता समवेदना र श्रद्धाञ्जलिले परिवारको पीडा नै कम हुन्छ। अझै हतारमा गरिएका पोस्ट र खुलाउन नहुने कुराले सम्बन्धित व्यक्तिलाई कति असर पुग्छ, त्यसको लेखाजोखा गर्न सकिँदैन। यसले पोस्ट गर्ने व्यक्तिलाई मात्रै होइन, सामाजिक सञ्जाललाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक बनाउँछ। यस्ता कमजोरीलाई सबैले सुधारौं। आत्मबल बढाउने र तथ्यसहितका सही कुरा फैलाए सामाजिक सञ्जालको गरिमासँगै हरमानिसको आत्मबल पनि बढ्ने छ। अन्नपूर्णसम्पादकीयबाट
