काठमाडौं । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक युवक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका– ४ मा ३३ वर्षीय शेरबहादुर सुहाङ्ग वैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् । उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । तीन दिनसम्म प्रहरीले उनलाई भेटेको छैन ।
बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा र्याली निकालेको थियो । सोही र्यालीको समर्थनमा उनले फेसबुकमा स्टाटस लेखेका थिए । स्टाटस लेखेको विरोधमा बैशाख ३१ गते राति ८-९ जनाको समूहले हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो ।
स्थानीय दिलकुमार लावाङ(करण ), नवराज लिम्बू, शुक्रराज लिम्बु र सुमन लिम्बूसहित ८-९ जनाको टोलीले राति साढे ११ बजे उनको घर घेरेर ढुंगामुढा गरेको बाबु खम्बबहादुरले बताएका छन् । खम्बबहादुरलाई ‘छोरा निकाल मार्छु’ भन्दै ८-९ जनाको समूहले धम्की पनि दिएको थियो ।
