किरात राई यायोक्खा कुवेत शाखाले एक बिज्ञाप्ती जारी गरेको छ । उक्त बिज्ञाप्तीमा प्रदेश न.०१ को नाम पहिचानको आधारमा हुनुपर्ने तर पहिचानलाइ नकार्दै प्रदेश सभाले छलकपट पुर्ण र छापामार शैलीमा पहिचानबिहिन कोशी प्रदेश नामाकरण गरेको प्रती आफुहरुको पनि आपत्ति रहेको उल्लेख गरिएको छ।
सो बिज्ञाप्तीमा शाखाका अध्यक्ष उमेश राई र महासचिब रोशन हाङ्गखिम राइले हस्ताक्षर गरेका छन।
बिज्ञापति:-
आदरणीय जनसमुदाय,
संघीय, लोकतान्तिक, गणतन्त्र बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक पहिचान बोकेको देश नेपालको प्रदेश नम्बर १ विविध इतिहास भूगोल र सभ्यतासहितको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र साझा पहिचानलाई नकार्दै १ नं. प्रदेश सभाले छलकपट पूर्ण र छापामार शैलीमा पहिचानविहीन ‘कोशी प्रदेश’ नामाकरण गरेकोमा राई यायोक्खा नेपालद्वारा मिति २०७९ / ११ / १६ मा सार्वजनिक गरेको प्रेस विज्ञप्तीलाई समर्थन गर्दै किरात राई यायोक्खा कुवेत पनि असहमति प्रकट गर्दछ ।
विक्रम सम्बत २०७९ फाल्गुन १७ गते प्रदेश सभामा सहभागी राजनीतिक पार्टीहरुले आ-आफ्नो संसदीय दलको बैठकहरुमा छलफलसम्म नचलाई त्यहाँ बसोबास गर्ने नागरिकहरुको मागलाई समेत सम्बोधन नगरी शान्तिपूर्ण ढङ्गले सो नामकरण गर्ने निर्णय गरेकोमा उक्त कार्यको खारेजीको माग गर्दछौं । नेपाली जनताको विभिन्न समय २०४५/४६, २०५२, सशस्त्र जनयुद्ध २०६२/६३ नागरिक आन्दोलन, मधेश आन्दोलन लगायत बलिदानीपूर्ण संघर्षले स्थापित संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी राज्य प्रणाली र पहिचानलाई सम्बोधन गर्दै नेपालको वर्तमान संविधान २०७२ प्राप्त भएको हो । सोही विधानको धारा ५६ को ३ को अनुसूची ४ अनुसार राज्यको पुनःसंरचना अन्तर्गत प्रदेशको नामाकरण गर्न प्रदेश सभालाई जिम्मेवारी दिएको थियो । पहिचान सम्बन्धी वर्तमान संविधानको भावना, विभिन्न समयमा भएको शान्तिपूर्ण आन्दोलनका मर्म र सहिदहरुको सपनाहरू साकार बनाउन प्रदेश नम्बर १ लाई प्राचीन सभ्यताको आधारमा किरात प्रदेश नामाकरण गराउने अत्याधिक जनआवाज उठिरहेको थियो । वल्लोकिरात, माझकिरात, पल्लोकिरात भनी तथ्यगत भूगोल, इतिहास र सभ्यतालाई सम्मान गर्दै बिनासर्त प्रदेश नम्बर १ लाई किरात प्रदेश नामकरणका लागि प्रदेश सभा र सम्बन्धित प्रदेश न. १ सरकारसँग हाम्रो संस्था जोडदार माग गर्दछ ।
अन्त्यमा नेपालमा भइरहेको किरात राई यायोक्खा नेपाल, लगायत सरोकारवाला पहिचानवादी संघसंस्थाहरुले कोशी प्रदेश नाम खारेजी र किरात प्रदेश नामाकरणका लागि चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति किरात राई यायोक्खा कुवेत पूर्ण समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछ ।
