काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बानेश्वर पुगेका प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका तीन जनालाई प्रहरीले मुख थुनेको थियो।
‘चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउनुहोस्, जो सम्भव छ,’ लिङ्देनले भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन्। जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’
अझ उनले थपेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने कमरेड पुष्पकमल दाहाल प्रचण्ड, हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’
