”प्रधानमन्त्री , गृहमन्त्री , संस्कृति मन्त्रालय , हलेसी विकास समिती , गुठी संस्थान र व्यवस्थापन समिती समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतले जारी गरेको परमादेशको आदेश विपरित मन्दिरमा अनावस्यक हस्तक्षेप र गतिविधि बढ्दै “

मनोज गिरी, खोटाङ । खोटाङको पवित्र त्री-धाम हलेसी मन्दिरमा चढाइएको भेटी तथा सुनचादीमा ब्यापक अनियमितता हुने गरेको पाइएको छ । मन्दिरमा भक्तजनहरुले चढाएको भेटी तथा मुर्तीमा लगाउने गरेको सुन तथा चादीका गहना मन्दिर समितिका अध्यक्षद्धारा नै हिनामिना हुने गरेको खुल्न आएको छ ।
२०६२ साल मंसिर १ गते राज्यसँग द्वन्द लडिरहेका तत्कालीन माओवादी ले द्वन्दको समयमा हलेसी महादेव मन्दिरमा चढाएको भेटी संकलन गरी उक्त भेटीबाट मन्दिर तथा गुफाको विकास तथा पुन निर्माण गर्ने भनी हलेसी महादेवका पुजारीहरुबाट महादेवलाई पर्व पर्वमा पहिराउने महादेवको गहना , पुजा आजाको सामाग्री र तालाचावीहरु लिइ मन्दिर समितिको निर्माण गरिदिएको थियो ।
तत्कालीन समितिको अध्यक्षमा गुजुरमान राइलाई बनाइएको थियो ।अध्यक्ष राईले महादेवलाई पहिराउने गहना , पुजाका सामाग्री हरु , तालाचावी र मन्दिरमा चढ्ने सुनचाँदी र भेटीघाटी समेत आफ्नै जिम्मामा राख्दै आएका थिए ।
गजुरमान राईले २०६२ मंसिर १ गतेदेखि २०७५ श्रावण सम्म लगातार झण्डै १३ बर्षसम्म समितिको अध्यक्ष भएर काम गरेता पनि राइको कार्यकालमा मन्दिरको खासै व्यवस्थापन हुन सकेन । त्यसो त लगातार १३ बर्ष सम्म अध्यक्ष भएर काम गरे पनि उनले उपलब्धी मुलक काम नगरेको भेटीघाटी पारदर्शी नभएको भन्ने आवाज स्थानीय स्तर बाट पटक पटक नउठेको पनि होइन ।
राइले मन्दिरको विकास भौतिक संरचना निर्माण तथा संरक्षण गर्नु त परैको कुरा हो मन्दिरको आम्दानी समेत पारदर्शी नगरेकोले गजुरमानको विकल्प खोज्नु पर्ने स्थानिय स्तरको आवाजलाई कुनै चासो र सुनुवाइ नगरी खोटाङका तत्कालिन जिल्ला प्रशासन कार्यालयका सिडिओ गोबिन्द सापकोटा र गुठी सस्थान सँगको मिलेमतोमा गजुरमान राइले आफुलाई पटक पटक समितिको अध्यक्ष पदमा नियुक्ति लिदै आउने गरेका थिए ।
स्थानिय तहको निर्वाचन पछि २०७५ भदौमा गु्ठी संस्थानले २ वर्षे कार्यकालका लागि हर्कराज राईलाई मन्दिर समितिको अध्यक्ष बनायो । नगरपालिकाले सिफारिस गरेको अध्यक्ष पद बाहेक अन्य पदाधिकारी हरुमा व्यापक हेरेफेर भएको भन्दै समिती लाई विवादमा तानियो । अध्यक्ष हर्कराज राइको वक्तव्यमा आफुलाई नगरपालिकाले दिएको नियुक्ति मात्रै मन्जुर भएकोले गुठी संस्थानले दिएको नियुक्ति बाट राजिनामा दिएको उक्त उल्लेख छ ।
समितिमा हलेसी तुवाचुङ नगरपालिका ले अध्यक्ष हर्कराज राई, उपाध्यक्ष भुपेन्द्र राई लगायतलाई सिफारिस गरेर पठाएको थियो भने गुठी संस्थानले अध्यक्ष हर्कराज राई र उपाध्यक्ष लंकशेर राई लगायतलाई नियुक्ती दिएपछि विवाद बढेर गएको थियो । राज्य र माओवादी विच भएको शशस्त्र द्वन्द को समयमा परम्पराका पुजारीहरु बाट तालाचावी लिएर समिती गठन गरेको थियो ।
माओवादी र राज्य पक्ष विच भएको विस्तृत शान्ती सम्झौता पछि कब्जा गरिएका सबैको सम्पत्ति आदि फिर्ता हुनुपर्ने भएपनी समिती मार्फत मन्दिरको दिगो व्यवस्थापन हुनुको साटो चरम लापरबाही , अनियमितता हुन थालेको , महादेव को पुजाआजा मा लापरबाही भएको , महादेवलाई पर्व पर्वमा महादेव का महन्त पुजारी बाहेक नियम धर्म परम्परा र विधि मिचेर जसले पायो त्यसले गहना पहिराउने काम भएको भन्दै परम्पराका पुजारी लाई नै महादेवको सम्पुर्ण पुजा सामाग्री गर गहना लगायत फिर्ता हुनुपर्ने भन्दै परम्पराका पुजारीहरु बम प्रसाद गिरी ,मन्दिप गिरी समेतले सर्वोच्च अदालमा दिएको रिटमा सम्मानित अदालतले पुजारीहरुको पक्षमा सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र त्यसको अध्यक्ष , गृह मन्त्रालय सिंह दरवार काठमाडौ र त्यसको मन्त्री , युवा खेलकुद तथा संस्कृति मन्त्रालय , गुठी संस्थान केन्द्रिय कार्यालय संस्कृति व्यवस्था उपशाखा खोटाङ , हलेसी महादेवस्थान विकास समिति खोटाङ , हलेसी महादेवस्थान गाविसको कार्यालय खोटाङ , प्रहरी चौकी हलेसी खोटाङ , हलेसी महादेव मन्दिर व्यवस्थापन समिती खोटाङ र त्यसको अध्यक्ष गजुरमान राइ समेतलाई विपक्षी बनाइ विपक्षी को नाममा मिति २०७२ फागुन २ गते सर्वोच्चले परमादेश जारी गरेको थियो ।
परमादेशमा भनिएको छ “‘ ताम्रपत्रबाट पुजारी भएका हलेसी महादेव मन्दिरका मनोहर गिरीको सन्तान यी निवेदकहरु भएको कुरामा कुनै विवाद छैन यस्तो पुजारीको शिष्य प्रशिष्यबाट पुजाआजा गराउनुपर्ने गरि यो गुठीको व्यवस्था भइ यसको लागि जग्गा आदि समेत प्रदान भएको राज्य प्रमुखको कारबाही लाई गुठी संस्थानले सम्मान र आदर गर्नुपर्छ ‘”।
मनोहर गिरीका शिष्य प्रशिष्य यी निवेदक सन्तान बाहेक अरु देखिन आएका छैनन । मनोहर गिरीका हकवाला अरु नभए सम्म गुठी संस्थानले अरु पुजारीहरुको बन्दोबस्त गरे मात्र खड्गनिसान र ताम्रपत्र को सम्मान हुन्छ । सो नभइ अचानक महादेवको नयाँ नयाँ पुजारी नियुक्त हुँदा भक्तजनहरुले कतै न कतै असहज महसुस गर्ने परिणाम आउन सक्छ । पुजाआजा को आफ्नै गोपनियता र विधि विधान हुन्छ । यो खास कला र सीप पनि हो ।
यस कारण जब सम्म मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तान बाट मन्दिरको पुजाआजा विधि विधान बमोजिम हुन्छ त्यसमा बिना मतलब खलल पार्नु उचित हुदैन यस प्रकारको खललबाट धर्मकार्यको संरक्षण भएको मान्न मिल्दैन । पुजारी हरुलाई अवरोध हुने गरि गूठी संस्थानले समिती आदि गठन गरि कुनै काम कुरा गर्नु फलदायी हुने देखिदैन।
सनातन बाट चली आएको परम्परा अनुसार हलेसी महादेव मन्दिरको नित्य पुजाआजा संचालन गर्न महन्त मनोहर गिरीका शिष्य प्रशिष्य र सन्तान मध्य यी रिट निवेदकहरु लाई परम्परागत पुजाआजा गर्नबाट हलेसी महादेव व्यवस्थापन समितिले रोक्नु न्यायोचित देखिदैन । अतस् मनोहर गिरीको शेष पछि चलिआएको रितिथिती बमोजिम निजको शिष्य प्रशिष्य र सन्तान दरसन्तानमा उपयुक्त व्यक्ति भएसम्म निजलाई पुजारी भइ नित्य पुजा गर्न दिनु र सो कार्य गर्न नरोक्नु नरोकाउनु र सो को लागि आवस्यक व्यवस्था गर्नु भन्ने सम्मको विपक्षी हरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । सर्बोच्च अदालतले उसको कानुन पत्रीकाबाट २०७३ भदौ , भाग ५८ अंक ५ को पृष्ठ ९५८ , निर्णय नम्बर ९६०५ , मुद्धा नम्बर ०७०-wc- ०२३९ भनी प्रकाशित गरेको छ । गुठी संस्थानले अदालतको आदेश विपरित हर्कराज राइको अध्यक्षता मा दुई वर्षे कार्यकालको नियुक्ति दिएपनी उनको अवधि २०७७ भदौमा सकिन्छ तर पनि हर्कराज समितिको अध्यक्ष को रुपमा मन्दिरमा अझै पनि चलखेल गरिरहेका छन । मन्दिरमा चढ्ने गरेको सुनचाँदी र विदेशी नोट उनी आफैले आफुखुसी राख्ने गरेका छन ।
राइले मन्दिरको सम्पत्ति आफुखुसी गरिरहेको कुरा हलेसीपाटीलाई सुचना आएपछि हलेसीपाटीका अध्यक्ष तथा पत्रकार मनोज गिरीले हरकराज राइलाई भेटेर सुनचाँदी र पैसा काहा छ भनेर प्रश्न गर्दा म जिम्मा छ भन्ने जवाफ दिए । खोइ काहा छ हेरौ भनेपछि उनले सुनचाँदी राखेको लक्करको चावी हराएको छ भने । तपाइले जसरी पनि देखाउनै पर्छ भनेर दवाव दिएपछी उनले नजिकै को फर्निचर को मान्छेलाई बोलाएर चावी फोड्न लगाए । चावी फोडिएको सोकेस भित्र केही बिदेशी नोट र सुनचाँदी हरु देखिए ।
सुनचादी कति छ भन्ने प्रश्नमा उनले केही थाहा नभएको जति छ यही छ भनेर पन्छिए । मन्दिरको सम्पत्ति आफ्नो जिम्मामा राख्ने अवैधानिक समिति , सर्वोच्चको आदेशले हार बेहोरेको कथित मन्दिर समितिको अध्यक्ष लाई नै थाहा नहुने हो भने ती सम्पत्ति हरुको सुरक्षा सही ढंगले हुन्छ हुदैन भन्ने प्रश्न अवस्य उठ्छ नै । हर्कराज राइले २०७५ भदौ देखि हाल सम्म मन्दिरमा चढेको सम्पुर्ण सुनचाँदी र बिदेशी नोट हरु आफ्नै जिम्मामा राखिरहेका छन ।
२०६२ मंसिर देखि २०७५ श्रावण महिना सम्मको सुनचाँदी र नोट हरु कस्को जिम्मा मा छ भन्ने अर्को प्रश्नमा उनले भने पुराणको करिब २०/२२ लाख र सुनचाँदी र नोटहरु गजुरमान राइकै जिम्मामा रहेको साथै महादेव लाई पहिराउने गहना समेत उनले हाल सम्म कसैलाई नबुझाई आफुखुसी राख्दै आएको कुरा खुलाए । हर्कराज राई उनै व्यक्ति हुन जो तत्कालिन माओवादीले २०६२ मंसिर मा गजुरमान राइको अध्यक्षतामा समिती बनाइदिदा देखि हाल सम्म पनि निरन्तर मन्दिर समितिमा आवद्ध छन ।
मन्दिर जस्तो पवित्र क्षेत्र भित्रको सम्पत्ति लाई यसरी जो समितिको अध्यक्ष हुन्छ उसैले आफ्नो पेवा जस्तो आफुखुसी गर्ने हो भने आम्दानीको पारदर्शिता र इमान्दारीता माथी प्रश्नै प्रश्नको पहाड बन्छ । अदालतको आदेश ले निवेदकहरु को पक्षमा फैसला गरिसके पछाडि पनि गुठी संस्थानले समिति निर्माण गर्नु , आफ्नो पक्षमा फैसला नहुदा नहुदै र आफ्नो कार्य रअधिकार क्षेत्र भन्दा बाहिर गएर मन्दिरमा चलखेल गर्नु तथा मन्दिरको भेटीघाटीमा हातपात गर्नुले सम्मानित सर्वोच्च अदालतको परमादेश को ( आदेश) को अवहेलना भैरहेको मात्रै नभइ दुषित नियतले मन्दिरको आम्दानी मा मोह त्याग्न समेत नसकिरहेको स्पष्ट देख्न सकिन्छ ।
( लेखक गिरी halesipati.com का प्रकाशक तथा सम्पादक हुन )
