काठमाडौं ।६६ सालको घटनामा २०७० सालमा दोषी ठहर भइ हालै मात्रै जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी आज जेलमुक्त हुँदैछन्।
असल चालचलन देखिएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद माफी मिनाहा पाएपछि चौधरी आइतबार जेलमुक्त हुन लागेका हुन्।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो।
७३औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले चौधरीको कैद सजाय मिनाहाका लागि सिफारिस गरेको थियाे। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीसहित कैलाली जिल्ला अदालतबाट आइतबार ४ जना कैदीबन्दी रिहा हुँदैछन्। १० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ। जिल्ला कारागारमा रहेका ७ जनालाई सजाय माफीका लागि सिफारिस गरिएको भए पनि ४ जनाको मात्रै सजाय माफी भएको छ।
